![]()
काठमाण्डाैँ, असोज ८- मंगलबार वीरगञ्ज महानगरपालिकामा प्रवेश गर्दा ढोका छेउमै भेटिए, आशिक हवारी।
उनी वि.स. २०४३ सालमा कार्यालय सहयोगीको रूपमा नगरपालिकामा प्रवेश गरेका थिए। अवकासपछि नगर प्रहरी गठन भयो। हाल उनी नगर प्रहरीको रूपमा सेवा गरिरहेका छन्। ३९ वर्ष सेवा गरेको कार्यालय जल्दा उनको मन खिन्न छ।
‘४ दिनसम्म आगो बलिरहेको थियो,’ उनले भने, ‘यो हाम्रै सम्पत्ति थियो, यसरी जलाउन नहुने।’
जेनजी आन्दोलनको क्रममा भदौ २४ मा वीरगञ्ज महानगरपालिकामा तोडफोड, आगजनी र लुटपाट भयो। अन्यत्र आगो लाग्ने बित्तिकै निभाउन पुग्ने महानगरपालिकाको दमकल कार्यालयमा लागेको आगो निभाउन पुग्न सकेन।
त्यस दिन नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल सहितको टोली कार्यालयमै थियो। उनीहरूले कार्यालय जोगाउने प्रयास गरेका हुन्, तर सकेनन्। प्रदर्शनकारीले हानेको ढुंगाले लागेर ८ जना नगर प्रहरी घाइते भए।
‘कार्यालय छोडेका थिएनौं, प्रदर्शनकारीलाई बिन्ती गर्यौं, तर पनि मान्दै मानेनन्,’ उनले भने, ‘अर्को ढोका फोडेर भित्र पसे, ठूलो संख्यामा आएका प्रदर्शनकारीलाई हामीले रोक्न सकेनौं। ज्यानकै असुरक्षा महसुस हुन थालेपछि पछि हट्यौं।’
मुख्य ढोकाबाट भित्र पस्न खोज्दा नगर प्रहरीको टोलीले रोकेको थियो। पछि प्रदर्शनकारी नगर उपप्रमुखको कार्यकक्ष अगाडि रहेको सहायक ढोका फोडेर भित्र प्रवेश गरेको नगर प्रहरी नासिर खान बताउँछन्।
सुरूमा पछाडि जिन्सी शाखाको झ्याल फोडेर आगजनी गरियो। तर पनि प्रदर्शनकारी कार्यालय भित्र पस्न सकेका थिएनन्। अगाडिबाट प्रवेश गरेपछि सवारी साधन र कार्यालयमा आगजनी गरिएको थियो। प्रदर्शनकारी पटक पटक आएर तोडफोड, आगजनी र लुटपाट गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्।
नगर प्रहरीले लुटेर लगेका कतिपय सामग्री फिर्ता ल्याएको छ। गाउँ गाउँ पुगेर र कवाडबाट समेत काम लाग्ने सामग्री उठाएर ल्याएको नगर प्रहरी इन्चार्ज भुसाल बताउँछन्।
केही सेवा सुरू, बाँकीका लागि समय लाग्ने
वीरगञ्जमा यसअघि पनि पटक पटक आन्दोलन भएका छन्। ०७२ सालमा ६ महिनासम्म चलेको मधेस आन्दोलनको केन्द्र नै वीरगञ्ज थियो। तर यसरी नगरपालिका कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थिएन।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीले महानगरका विभिन्न शाखा, महाशाखामा रहेका कागजपत्र लगभग सबै जलेर नष्ट भएका छन्। कार्यालयमा रहेका कुर्सी, टेबल, कम्प्युटर, प्रिन्टर, दराज, सिसिक्यामेरा एसीहरू जलेका छन्। महानगरपालिकामा राजस्व बुझाउन आउने सेवाग्राहीका लागि समेत एसी जडान गरिएको थियो। कार्यालयमा रहेका सबैजसो सवारी साधन जलेका छन्। कार्यालय खण्डहरमा परिणत भएको छ। कागजात जलेका कतिपय कोठाहरूमा खरानीको थुप्रो अझै देखिन्छ। कुनै कोठामा पानी जमेको छ।
महानगरमा कति क्षति भयो भन्ने यकिन भइसकेको छैन। क्षतिको विवरण संकलनको क्रममा नै छ। ११५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। भवनको अवस्थाबारे अध्ययन गर्न योजना महाशाखाका प्रमुख अवधेश कुशवाहा नेतृत्वको प्राविधिक टोलीलाई जिम्मेवारी दिइएको छ।


