![]()
काठमाण्डाैँ,असाेज -६ प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ मन्त्रीको नाम सिफारिस गरेकी छन् । मन्त्री नियुक्तिका लागि अनिलकुमार सिन्हा, डा. संगीता कौशल मिश्रा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस डा. संगीता कौशल मिश्रको नियुक्ति भने हाललाई स्थगित हुने भएको छ। एक मन्त्रीका अनुसार उनको नियुक्ति होल्डमा राखेर अन्यलाई आजै शपथ ग्रहण गराउने तयारी भएको छ। मन्त्रीहरूको शपथ ग्रहण दिउँसो २ बजे गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको छ । परियारलाई कृषि तथा पशुपन्छी विकास र खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी छन् ।
मन्त्रीमा सिफारिस सिंहा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी ६५ वर्षे उमेर हदका कारण कात्तिक २०८० मा सेवा निवृत्त भएका थिए । साउन २०७३ मा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । मिश्रा स्वास्थ्य मन्त्रालयको पूर्वअतिरिक्त सचिव हुन् । ६ महिनादेखि बिदामा रहेकी उनी जेन–जी आन्दोलनपछि मन्त्रालयमा हाजिर भए पनि आइतबार मात्र पदबाट राजीनामा दिएकी थिइन् ।


