![]()
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बालुवाटारबाट हवाई उद्दार गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि सार्वजनिक भए ।
भ्रष्टाचारविरोधी प्रदर्शनका चलिरहँदा सुरक्षा जोखिम बढेपछि सैनिक ब्यारेक छिरेका ओलीले फर्किँदा कुनै आत्मालोचना गरेनन्, उल्टै ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटना छानबिन हुनपर्ने’ बताए । जबकि, संसद् भवनबाट प्रहरीले प्रयोग गरेको हतियार इन्सास र एलएलआर आफैंमा अर्धस्वचालित घातक हतियार हुन् ।
त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग स्रोतका अनुसार, पहिलो र दोस्रो दिन उद्दार गरेर अस्पताल पुर्याइएका मध्ये ३६ जनाको कम्मरभन्दा माथि गोली लागेको भेटिएको थियो । तीमध्ये कतिपयको टाउको र छातीमा समेत गोली लागेको थियो ।
पोष्टमार्टम प्रतिवेदनमा उनीहरुको मृत्यु ‘हाई भेलोसिटी आर्म्स’बाट प्रहार भएको गोलीका कारण भएको उल्लेख छ । ‘एसएलआर, इन्साससहित अरु हतियारबाट प्रहार भएको गोलीबाट मृत्यु हुँदा यो उल्लेख गरिन्छ,’ एक फरेन्सिक चिकित्सक भन्छन्, ‘ब्यालेस्टिक जाँच गर्ने हो भने विस्तृतमा पनि थाहा हुन्छ ।’


