![]()
काठमाडौँ — जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका शिक्षण संस्थाले अनलाइनबाट भर्चुअल कक्षा सञ्चालन गर्न थालेका छन् ।भदौ २४ गतको प्रदर्शनमा आधा दर्जनभन्दा स्कुल, कलेजमा आगजनी, तोडफोड र ढुंगामुढा गरी क्षति पुर्याइएको थियो । प्रदर्शनको क्रममा युलेन्स स्कुल खुमलटार/बाँसबारी, ग्लोबल कलेज, जेभियर इन्टरनेसल, नाइटिंगेल, नामी स्कुलमा तोडफोड र आगजनी भएको थियो । तीमध्ये अधिकांशले अनलाइनबाट कक्षा सञ्चालन थालेका हुन् । काठमाडौं महानगरपालिकालेसमेत क्षति पुगेका शिक्षण संस्थालाई अनलाइन पठनपाठन गर्न सर्कुलर जारी गरेको थियो । शिक्षण संस्थाहरुले क्षतिको विवरण संकलन भइसकेको र यकिन भइनसकेको जनाएका छन् ।
युलेन्स स्कुलका प्रधानाध्यापक मेदनी लामिछानेले अनलाइन कक्षा सञ्चालन गरेर विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार नै अघि बढेको बताए । ‘एकसाता जति अनलाइनबाट पठनपाठन गयौं,’ उनले भने, ‘शुक्रबारबाट दसैं छुट्टि दिएका छौं ।’ शैक्षिक क्लालेण्डरमै घटनास्थापनादेखि छुट्टी रहेकाले त्यसलाई कार्यान्वयन गरिएको उनले जनाए । विद्यालय भवन, कक्षाकोठा, स्कुल गाडीहरु जलेर नष्ट भएपछि बालबालिकालाई अनलाइन कक्षामा सहभागी हुन स्कुलले आह्वान गरेपछि त्यही अनुसार गरेको युलेन्सका एक अभिभावकले बताए । ‘छोराछोरी पढ्न स्कुलमा आगजनी भएपछि हामीले पनि गएर हेर्यौँ । सुरुमा तोडफोड गरेका रहेछन् । पछि गार्डहरु लखेटेर पेट्रोल खनाएर आगजनी गरे छन्,’ ती अभिभावकले भने, ‘एउटा भवन पूर्ण रुपमा असर पुगेको देखिन्छ । ७०–८० गाडी थिए । तीमध्ये धेरैमा क्षति पुगेको हुनुपर्छ ।’प्रधानाध्यापक लामिछानेले क्षतिको पूर्ण विवरण संकलनकै क्रममा रहेको बताए ।


