![]()
काठमाडौं,असाेज २- सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचार, बेथितिको अन्त्य र सुशासनको माग गर्दै जेनजीले २३ भदौमा काठमाडौं लगायत देशभर प्रदर्शन गरे ।
यसदिन सुरक्षाकर्मीले चलाएको गोली लागेर २१ जना प्रदर्शनकारी मारिए । यो दिन आन्दोलन प्रदर्शनकारीका तर्फबाट संसद् भवन प्रवेश बाहेक उग्र र कुनै ठूलो तोडफोड, आगजनी भएन । २१ जना मारिएपछि भोलिपल्ट २४ भदौमा बिहानदेखि आन्दोलनमय भयो ।
२४ भदौको आन्दोलनमा जेनजी मात्रै थिएनन्, अरु व्यक्तिहरू पनि मिसिए । मध्यान्ह हुँदासम्म आन्दोलन उग्र बनिसकेको थियो । प्रहरीका ब्यारिकेटहरू तोड्नेदेखि, कर्फ्यु समेतको प्रवाह नगरी निषेधित क्षेत्र नै तोडर आन्दोलन चर्काइयो ।
ठूलो संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न थाले । त्यसपछि सिंहदरबारदेखि, संसद् भवन, सर्वोच्च अदालत, जिल्ला अदालतमा समेत आगजनी गरियो ।
सरकारी वकिलको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नागरिक उड्यन प्राधिकरणको कार्यालय पनि प्रदर्शनकारीको निशानामा परे ।
प्रहरीका भवनहरू जलाइए । त्यसपछि प्रदर्शनकारीहरूले नेताहरूका घर आगजनी र तोडफोड गर्न थाले । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका शीर्ष नेताहरुको घरमा आगजनी र तोडफोड गरियो । साँझसम्म सरकारी कार्यालयदेखि नेताका घरहरूमा आगजनी र तोडफोड गरेका प्रदर्शनकारी मध्ये केही रात पर्न थालेपछि लुटपाटमा संलग्न हुन थाले ।


