![]()

मंसिर १६, काठमाडौं ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले नेकपा एमालेका नेता डा. भीम रावललाई कडा जवाफ फर्काएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भीम रावलले ‘कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन?’ भन्ने प्रश्नको प्रत्युत्तरमा बालेनले लेखेका छन् ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’
मेयर शाहले विदेशीसँग सहयोग माग्ने कुनै रहर आफूलाई नभएको बताउँदै भन्छन् ,‘ हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ । र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ । ’


