![]()

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषको दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका छन्। आज मन्त्रालमा एक कार्यक्रमको आयोजना गरि भर्चुअल माध्यमबाट मन्त्री कुँवरले प्रदेश नम्बर एकको विराटनगर र मधेस प्रदेशको सिमरामा सञ्चालनमा ल्याइएका दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि ति कार्यालयहरुको स्थापना र सेवा शुभारम्भ गरिएको बताए। स्थानीय तहमा बस्ने श्रमिकलाई सेवा लिन काठमाडौं आउन समस्या हुने भएकाले पनि सेवा सहजताका लागि शाखा कार्यालयहरुको स्थापना गरिएको उनले बताए।
‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो र, यो आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ । म रोजगार दाताहरूलाई, योगदानकर्ताहरूलाई आग्रह गर्न चाहन्छु सामाजिक सुरक्षा कोषमा आबद्ध होउँ । कतिपय रोजगार दाताहरू, कतिपय घोषित क्षेत्रहरू पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको हामीले देखेका छौँ । सबैलाई कानुन, नियम, विधि, विधान अनुसार कोषको दायरामा ल्याइनेछ’, मन्त्री कुँवरले भने ।


