![]()

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यष ओलीले प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका हुन् ।
देउवालाई भेट्न ओली झन्डै ६ महिनापछि प्रधानमन्त्रीको बालुवाटार पुगेका थिए । भेटवार्तामा ओलीको साथमा एमाले नेता विष्णु पौडेल र सुवास नेम्वाङ थिए भने प्रधानमन्त्रीसहित सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।
भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग मुख्यरुपमा चार वटा विषय राख्दै कुराकानी गरेको एमाले नेता पौडेलले बताएका छन् ।
अध्यक्ष ओलीले देउवासामु आगामी मंसिरको चुनाव, सत्य र मेलमिलाप आयोग (टीआरसी), नागरिकता विधेयक र मूल्यवृद्धि लगायत चार बिषयमा राख्दै कुराकानी गरेको नेता पौडेलले बताए । सरकार प्रतिपक्ष दलको बेवास्ता गर्दै मनोमानी ढंगले अघि बढिरहेको भन्दै ओलीले प्रधानमन्त्री देउवासंग देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने नबिर्सन आग्रह गरेको नेता पौडेलको भनाई छ ।
सरकारले संसदमा पेश गरेको सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयकबारे ओलीले देउवासंग असन्तुष्टी राख्दे मनलाग्दी नगर्न आग्रह गरेका थिए । शान्ति प्रकृयासंग जोडिएका महत्वपुर्ण बिषयमा विधेयक ल्याउँदा सरकारले आफुसंग छलफल नगरेको ओलीको गुनासो थियो ।
छलफलमा ओलीले चुनाव विश्वसनीय हुनेमा आशंका पैदा भएको, सत्ता गठबन्धनले दम्भ देखाएको आरोप समेत लगाएका छन् ।
छलफलमा प्रधानमन्त्री देउवाले आवश्यक सबै बिषयमा प्रतिपक्षसंग सरकारले सधै छलफल गर्दै आएको र आसन्न निर्वाचन निष्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न हुनेमा आशंका नग्रन अध्यक्ष ओलीलाई आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।
राष्ट्रिपतिबाट फर्काइएको नागरिकता विधेयक संसदले फेरि पारित गरेकोबारे ओलीले अब के हुन्छ भन्दै सोधेका छन् ।
राष्ट्रपतिको जायज सरोकारलाई ध्यान दिनुको साटो सरकारले फेरि हुबहु नागरिकता विधेयक संसदबाट पारित गरेर भिड्ने मनस्थिति बनाएको ओलीको आरोप थियो । त्यस्तै भेटमा ओलीले मूल्यवृद्धि र महँगीबाट जनता आक्रान्त हुँदा पनि सम्बोधन नभएको भन्दै देउवासंग गुनासो गरेका छन् ।
जवाफमा प्रधानमन्त्री देउवाले प्रतिपक्षीका नाताले सरकारसमक्ष राखेका गुनासाहरुलाई आफूले सकारात्मक रूपमा लिएको भन्दै ओलीलाई धन्यवाद दिएको सरकारका प्रवक्ता तथा संचारमन्त्री कार्कीले बताए ।


