![]()
२०७७ पुस २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिनुभएको छ । युवा सङ्घ नेपालले आज काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताउनुभयो । प्रधानमन्त्रीले ताजा जनादेशका लागि भनेर आफूले निर्वाचनको घोषणा गर्दा पार्टीभित्र र बाहिरका व्यक्ति अत्तालिएको बताउनुभयो । आफूले जनअपेक्षाअनुसार काम गर्दा पार्टीभित्रका केही नेता आत्तिएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको उहाँले उल्लेख गर्नुभयो । जननिर्वाचित सरकारले गरेको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक भनेर केही व्यक्तिले अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउने क्रियाकलाप गर्न नहुने बताउनुभयो । जनताका बीचमा जाने कुरा लोकतन्त्रविरोधी नहुने प्रष्ट पार्दै उहाँले जनताका बीचमा जान डराउनेचाहिँ लोकतन्त्रविरोधी भएको टिप्पणी गर्नुभयो । निर्वाचन तोकिएको मितिमै हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ कि हुँदैन भनेर भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा युवा सङ्घका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै संसद् विघटनको विरुद्धमा बोल्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।।


