![]()
२०७७ बैशाख २२, काठमाडौं । नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल भएका छन् । आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् । कोरोनाभाइरसको महामारीका कारण प्रत्येक प्रतियोगीले आफ्नै घरबाट प्रस्तुती दिँदै आएका छन् । शीर्ष १० का लागि छनोट भएपछि दिवेशले जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाएका थिए । यसमा उनले ‘रेगे ट्वीस्ट’ थपेका छन् ।
अर्को हप्ता शीर्ष ७ छनोट गरिनेछ । यसका लागि भोटिङ लाइन खुल्ला गरिएको छ । आर्थर गनको नामले परिचित दिवेश पोखरेललाई भोट गर्नका लागि १६ लेखेर २१५२३ मा मेसेज पठाउन सकिनेछ अथवा अमेरिकन आइडलको अफिसियल साइटमा गएर भोट गर्न सकिनेछ अथवा अमेरिकन आइडलको एपमार्फत् भोट गर्न सकिनेछ ।
दिवेशले आफूलाई शीर्ष १० मा पुर्याउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘मलाई सुरुवाती अवस्थादेखि नै सहयोग गर्ने तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु । संसारभरीबाट मैले जति माया र समर्थन पाइरहेको छु त्यसप्रति म कति कृतज्ञ छु भनेर शब्दमा व्यक्त गर्न सक्दिनँ । भोट गरिदिनु हुने सबैलाई धन्यवाद ।’ दिवेश अमेरिकन आइडलको शीर्ष १० मा पुग्ने पहिलो नेपाली हुन् ।


