Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

२०७६ चैत २७, काठमाडौं । चैत महिनामै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । धमाधम पानीका मुहान सुक्न थालेपछि उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या हुँदै आए पनि यसपालि भने मध्य चैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् । अब असारमा राम्रो वर्षा नहुउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताउँछन् ।

चुरे पहाडी शृङ्खलाका खोल्सीमा पानी सुक्दै गएपछि बर्दिवास वडा नं १, २, ३ , ४, ५, १०, ११ र १४ का बस्ती प्रत्यक्ष प्रभावित हुन्छन् । यी वडा बस्तीमा चुरेका दर्जनौँ खोल्सीको जरुवाबाट निस्केको पानी सङ्ग्रह गरेर वितरण गर्दै आइएको छ । मुहान नै सुक्दै गएपछि पाइप ओछ्याइएर ल्याइएको धाराबाट पानी झर्न छाडेपछि खानेपानीको सङ्कट बढेको हो । बर्दिवास वडा नं ६, ७, ८, ९, १२ र १३ मा खानेपानीको स्रोत बढीजसो इनार रहँदै आएका छन् । अहिले इनारमा पानी देखिन छाडेपछि वैशाख, जेठ कसरी कटाउने चिन्ता बढेको बर्दिवास–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतो बताउँछन् ।

“चैतमै इनारमा पानी देखिन छाड्यो” महतो भन्छन्, “राम्रो वर्षा हुन समय लागे आउने दिन के गर्ने होला ?” बर्दिवासमा असारदेखि माघसम्म खोल्सी र इनारमा प्रशस्त पानी भए पनि फागुनदेखि पानीको समस्या वर्षेनी हुँदै आएको छ । यसपालि भने लगातार हिउँदे वर्षा भएको हुँदा चैत सकिनैलाग्दा पानीको सङ्कट नपरेको पशुपतिनगरकै अर्की गृहिणी दिपीयादेवी महतो बताउँछिन् । गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैतको अन्तिम साताभित्रै खानेपानीको सङ्कट बढेको हो । बर्दिवास–८ हाथीलेटको विजयबस्तीमा ५५ घरका बीच रहेको एउटा इनार सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् ।

“पहिले–पहिले पनि इनार त सुक्थे”, विजयबस्तीकी गृहिणी मनमायाले भनिन्, “जेठसम्म पानी नपर्दा इनार सुक्ने त व्यहोरिएको थियो, पछिल्ला दुई–तीन वर्षदेखि त लाग्दो चैतमै इनार सुक्न थालेका छन् ।” बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन) पानीमा डुब्न छाडेको सो बस्तीका गृहिणी बताउँछन् । “डोलभरि पानी आउँदैन, डोलमा तानिएको आधाउधी पानी पनि एकैपटक इनारभित्र झारिएका १५–१६ डोल ठोक्किँदा अलिकति पानी माथि आइपुग्छ”, बस्तीकै अर्की गृहिणी सुभग्यादेवीले भनिन्, “चैतमै यो हालत छ, जेठसम्म के होला ?”

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीनवटै नगरपालिका (बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका) बस्तीका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा विसं २०५४ को जेठमा केही इनार सुकेका सम्झँदै भङ्गाहा–४ प्रेमनगरका सामाजिक कार्यकर्ता जवाहर महतोले पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेका बताए । भङ्गाहा–४ कै रामनगर, पलार, टोकाटोल र बनरामा खानेपानीका लागि प्रयोग गरिने चापाकल धमाधम सुकेका छन् । बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई न्वाइध्वाइसँगै वस्तुभाउलाई पानी ख्वाउनसमेत निक्कै सकस परेको भङ्गाहा–४ का बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोबासको रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेका सो बस्तीका रामईश्वर ठाकुरले बताए ।

इनारहरु धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर बस्तीकै अर्का किसान नारायण दाहालको दुखेसो छ ।

चुरे पहाड शृङ्खलाबाट निस्कने नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैतमै खानेपानीको हाहाकार मच्चिन लागेको जानकारहरु बताउँछन् । “हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाह भयौँ”, महोत्तरीमा वर्षौँदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिदै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादवले भने, “नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।”

स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिए पनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिए पनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार पनि चैतमै सुक्दै गएको हो । चुरेक्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने भङ्गाहा–७ का बासिन्दा वन, वातावरण र चुरे मामिला विज्ञ डा विजयकुमार सिंह बताउँछन् ।

विगतमा राष्ट्रपति चुरे संरक्षण अभियानमा संलग्न डा सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल पनि गरे । पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेको विज्ञहरुले जनाएपनि स्थानीय तहले वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन लागिपरेको बताएका छन् ।

“हामी प्राकृतिक सम्पदाको संरक्षण र तिनको कसरी दीर्घकालीन उपयोेग गर्न सकिन्छ भन्ने कुरामा गम्भीर छौँ” भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भने, “विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना प्राकृतिक सम्पदाहरुको संरक्षणलाई प्राथमिकतामा राखेर बनाइएको छ, तर यो कुरा एक ठाउँको प्रयत्नले मात्र भने हुन सक्दैन ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.