![]()
२०७६ चैत २२, काठमाडौँ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । ‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो । कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको अख्तियार गरेको ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले त्यसलाई रोक्ने काम गरेको स्थानीयहरु बताउँछन् ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले सडकमा काठ तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ । तामाङलाई छुरा प्रहार गरेको आधा घण्टाभित्रै घटनामा संलग्नलाई पक्राउ गरिएको डीएसपी गिरीले बताए । उनले भने, ‘घटनामा संलग्न स्थानीय २८ वर्षीय विजय लिम्बु पक्राउ परेका छन् । लिम्बुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।’ पटक–पटक लिम्बु र तामाङबीच विवाद हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए । डीएसपी गिरीका अनसार मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको हो । तामाङको छुरा प्रहारबाट बायाँ छात्तीमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार तामाङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


