![]()
२०७६ चैत १८, सिमकोट – हुम्लाको डाँडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाँजिर गरी भागेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाँडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाँजिर गरी फिर्ता भएका छन् । चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएपछि सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएका बेला हुम्लामा ठीक उल्टो भएको छ । अहिले डाँडाफया स्वास्थ्यचौकीमा औषधिको नाममा एक सिटामोल र करारमा खटिएका एक अनमी मात्रै छन् । अन्य सरकारी स्वास्थ्यकर्मी स्वास्थ्य संस्था छाडेर निजी काममा व्यस्त देखिएको स्थानीयबासीले बताएका छन् ।
स्वास्थ्यचौकीमा दुई अहेब, एक स्वास्थ्यचौकी इन्चार्ज (एचए), तीन अनमी र एक कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी रहे पनि अहिले करारमा रहेका एक अनमीले मात्रै स्वास्थ्यचौकी थेग्नुपरेको छ । यही चैत ८ गतेदेखि स्वास्थ्यचौकी संयोजकसहित अन्य स्वास्थ्यकर्मीबिहीन बनेको स्थानीयबासी टसी विकले बताए । अहिले डाँडाफयाका स्थानीयवासी सामान्य उपचारका लागि स्वास्थ्य चौकी पुगे पनि औषधि र कर्मचारी नहुँदा रित्तो हात लिएर फिर्ता हुनुपर्ने अवस्था आएको स्थानीयबसी बाँचु शाहीले गुनासो गरिन् । करारमा रहेकी अनमी सङ्गीता रोकायाले बिहानदेखि बेलुकासम्म स्वास्थ्यचौकी सम्हाल्दै आएको उनले बताइन् । पहिला गाउँको स्वास्थचौकीमै औषधि पाइन्थ्यो, अहिले सिटामोलसमेत पाउन मुस्किल भएको शाहीले गुनासो छ ।
स्वास्थ्यचौकीमा केही मात्रामा औषधि भए पनि बालबालिकाका लागि प्रयोग गरिने औषधि केही पनि नभएको अनमी सङ्गीता रोकायाले बताइन् । कार्यालय सहयोगीलाई औषधि ल्याउनका लागि सदरमुकाम पठाए पनि औषधि लिएर आइनपुगेको उनको भनाइ थियो । स्वास्थ्यचौकीका संयोजकलाई फोन गर्दा फोन नउठेको उनले बताइन् । यता सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले शनिबार हाजिर गर्न नमिल्ने र बिदामा पनि नबस्न सरकारले ह्वीप जारी गरेका बेला त्यस्तो गरेको पाइए कारवाही गरिने बताए । आइतबार मात्रै औषधि अभाव भएको खबर आएपछि डाडाफया स्वास्थ्यचौकीकालाई आवश्यक पर्ने औषधि पठाइसकेको संयोजक बोहराले बताए । यस्तै जिल्लाको तल्लो क्षेत्रमा रहेको रिप स्वास्थ्यचौकीमा पनि औषधिको अभाव रहेको पाइएको छ । रासस


