Breaking News.... EverestOnlineKhabar
June 15, 2026

Loading

२०७६ चैत १८, बलेवा – ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बागलुङ पुगेका थिए । डा गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन् । उनीहरु आउने खबरले बागलुङमा विदेशबाट आएका संक्रमित युवतीसँगको सम्पर्कमा आएकाहरुको नमूना संकलन हुने आशा जगाएको अञ्चल अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले सुनाए। उनीहरु सामान मात्रै छाडेर हिँडेकाले त्रासमा रहेको बागलुङले राहत महसुस गर्न सकेको छैन ।

उनीहरुले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई उक्त सामग्री बुझाएर फर्केको अस्पताल व्यवस्थापन समितिका सदस्य शर्माले बताए । उनीहरुसामु अस्पतालका चिकित्सक र व्यवस्थापन समितिका सदस्यले यहाँका समस्या राखेका थिए । सङ्घीय सांसद डा सूर्य पाठकले काठमाडौंँबाट बागलुङका लागि १०० थान पिपिई लिएर जनशक्ति हिँडेको बताइए पनि अस्पतालमा भने ५० थान मात्रै ल्याइएको छ । उनीहरुले आवश्यक परामर्श र कोरोना संक्रमित युवतीको परिवारको स्वाब संकलनमा सहयोग गर्ने पाठकले बताए पनि सामग्री हस्तान्तरणलगत्तै जिल्लाबाट बाहिरिएका थिए ।

अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन
प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्री बागलुङ आइपुगेका छन् । अञ्चल अस्पतालमा पठाइएका सामग्रीमध्ये भेण्टिलेटर भने अस्पतालले लिन मानेन । भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो । ‘ब्याट्री, ब्याकअप, मिटरलगायत केही सामग्री अपूर्ण रहेछन्, हामीले अलग्गै राखेका छौंँ’, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले भने, ‘शायद सामग्री पूरा होला, अनि त्यसपछि बुझौँला ।’ कोरोनाका बिरामीलाई श्वासप्रश्वासमा जुनसुकै बेला आइपर्ने समस्याका लागि भेण्टिलेटरको आवश्यकता हुन्छ । सघन उपचार कक्ष (आइसियू) नभएकाले भेण्टिलेटरको प्रयोग पूर्ण नभए पनि यसले उपचारमा सघाउने उनले बताए । भेण्टिलेटरका विषयमा अस्पतालले निर्देशनलायलाई जानकारी गराइसकेको छ । निर्देशनालयले पठाएका २५ थान पिपिई, आठ थान भिटिएम, स्वाब संकलन किट, मास्क, स्यानिटाइजरलगायत सामग्री प्राप्त भएको उनले बताए ।

परिवारका सातसहित ११ को नमूना

संक्रमित युवतीसँग यही चैत ४ गते एयर अरेबियाको एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवक, बागलुङ नगरपालिका गौँडाकोटकी महिला र कुँडुलेकी युवतीको परिवारका सात सदस्यको नमूना संकलन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । ती युवतीसँगै काठमाडौँदेखि बागलुङ बजारसम्म यात्रा गरेका काठेखोला गाउँपालिका घर भई बागलुङ बजारमा बस्दै आएका अर्का एकको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । स्वाब आज दिउँसो मात्रै पोखरा पठाउने तयारी भइरहेको छ । स्पेनबाट आएका काठेखोला गाउँपालिकाका अर्का एक युवकमा समेत कोरोनासँग मिल्दो लक्षण देखापरेकाले आज उनको समेत स्वाब लिएर सबै नमूना एकैसाथ परीक्षणका लागि पठाइनेछन् ।

बुर्तिबाङमा रहेका युवाको स्वाब संकलनका लागि भने स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली आचार्य उनको गाउँमै पुगेका थिए । उनको घर सदरमुकामबाट झण्डै एक सय किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–४ की ती युवतीको कोरोना परीक्षण गर्दा गत शनिबार नतिजा पोजेटिभ आएको थियो । ‘हामीले फोन ट्रेसिङ गरिरहेका छौंँ, संक्रमितसँग एकदमै नजीक रहेकाहरुलाई परीक्षण गरिहाल्ने योजना छ’, गुरौले भने, ‘प्रोटोकलअनुसार लक्षण देखापरेपछि मात्रै अन्य सम्भावितको जाँच हुन्छ ।’ पछिल्लो समय जाँचका लागि पठाइएका १० जनासहित बागलुङमा कोरोना जाँच हुनेको सङ्ख्या १३ पुगेको छ । यसअघि नमूना पठाइएका बागलुङ नगरपालिकाकै दुई जनाको नतिजा भने नेगेटिभ आएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.