![]()
२०७६ चैत १६, जनकपुर । प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको एकमात्र महानगर वीरगंजलाई २५ लाख, उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ ।
यस्तै प्रदेश सरकारले सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ । यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरेर काम गर्नेगरी कार्यविधि बनाइएको छ । यसअघि सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठक समेत बोलाएको थियो । सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका संसद शत्रुधन महतो, संसद किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता रहेको थियो ।


