![]()
इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ । भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न गएका थिए ।
कोरोनाभाइरसबाट प्रभावित फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ ।
आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्क अनुसार, आइतबारसम्ममा विश्वभर ६ हजार ४२० जनाको मृत्यु भएको छ भने एक लाख ६३ हजार ९३० जना बिरामी भएका छन् । यो रोग विश्वका १४१ मुलुकमा देखिएको छ । युरोपमा आइतबारसम्ममा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या २,००० नाघेको छ ।
चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको भएर घर फर्केका छन् । चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ ।
करिब ७२४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ । इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो । बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ ।


