![]()
२०७६ चैत ३, जनकपुुर । धनुषाको क्षीरेश्वरनाथमा अवैध मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैयाँका दरले क्षतिपुर्ति दिने निर्णय गरेको छ । प्रदेश २ सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा अवैधरुपमा उत्पादन गरेको विषादीयुक्त मदिराको सेवनवाट ज्यान गुमाएकाको परिवारजनलाई प्रदेश सरकारले ३–३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको हो । स्थानीय तह र प्रहरी प्रशासनले दिने प्रतिवेदन अनुसार पीडित परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । यससँगै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ लाई मदिरामुक्त प्रदेश बनाउने अभियान संचालन गर्ने जनाएका छन् ।


