Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

२०७६ चैत ३, खोटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध ¥याली त्रिवेणीचोक हुँदै नगरपालिका पुगेको थियो ।

¥यालीपछि सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सहभागीले बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन आवश्यक बजेटको समेत माग गरेका थिए । गत फागुन १९ गते दिक्तेलमा भएको बाँदर पीडित किसानको भेलाले नगरपालिलाई ज्ञापनपत्र दिने निर्णय गरेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । ती किसानले गत मङ्सिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रण गर्न नगरपालिकालाई गुहारेका थिए ।

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाएर हैरान पारे पनि हालसम्म नियन्त्रणको भरपर्दो विधि फेला नपरेकाले बाँदरलाई खोरमा थुन्ने व्यवस्था गर्न माग गरिएको अध्यक्ष घिमिरेले बताए । “बाँदरको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले अन्नपात जोगाउन सकिएनँ”, उनले भने, “बाँदर मार्न पाइँदैन भने खोरमा थुनेर राख्ने व्यवस्था गरियोस्, त्यही दानापानी दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो ।”

विसं २०७५ फागुनमा सो समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पु¥याउने भन्दै भारतको खुशीनगर उत्तरप्रदेशका पेसेवार शिकारी झिबाएर वडा नम्बर–५ लफ्याङस्थित छर्का, लुछिमलगायतका स्थानबाट बाँदर समातिएको थियो । यद्यपि, नियन्त्रणमा लिइएको बाँदर निकुञ्जमा लैजानअगावै समातेर राखेको राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो । बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण सो समितिले बाँदरलाई खोरमा थुन्ने र परिवार नियोजन गर्नुपर्ने आवाजसमेत उठाएका छन् । नगरपालिकाको रु दश लाख आर्थिक सहयोगमा गत वर्षको फागुन ७ गतेदेखि लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालिएको थियो ।

किसानको मागपछि बाँदर समात्न आर्थिक सहयोग गरेको नगरपालिका यसपल्ट भने झट्ट सहयोग गर्नसक्ने अवस्थामा देखिएको छैन । दश स्थानीय तह रहेको जिल्लाका धेरैजसो ठाउँमा बाँदर आतङ्क रहेको छ । खेतबारीमा टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका विभिन्न बालीनालीसमेत बाँदरले विनाश गर्न थालेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाले चन्दा सङ्कलन शुरु गरेका छन् । बाँदरका बथान गाउँमा आएर खेतबारीमा लगाइएका बालीनाली सखाप पार्न थालेपछि धपाउन चन्दा सङ्कलन शुरु गरेका हुन् ।

बाँदरले हैरान पारेपछि प्रतिघरधुरी रु २०० का दरले चन्दा उठाएर बाँदर धपाउने टोली परिचालन गरिएको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । “गाउँ वरपरका जङ्गलमा बस्ने बाँदरलाई खेदेर कम्तीमा दूधकोशी किनारमा रहेको रावाखोला फेदीसम्म पु¥याउने गरिएको छ ।” उनले भने, “उनीहरुलाई खाजा तथा खाना उपलब्ध गराउन चन्दा सङ्कलन गरिएको हो ।” बाँदर धपाउन हरेक घरबाट एक जना अनिवार्य खट्नुपर्ने नियम बनाइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । बाँदर आतङ्कबाट मुक्ति पाउन जिल्लाका किसान जति पनि खर्च गर्न तयार रहेका छन् । बाँदर मार्न कानूनी अड्चन भएकाले स्थानीय बासिन्दाले यस्तो अभियान चलाएका केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.