Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

२०७६ चैत २, रोल्पा । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले रोल्पाबाट छानविन प्रक्रिया अघि बढाएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिको स्थलगत छानविन गर्न आयोग रोल्पा आएको हो । आयोगलाई प्राप्त उजुरीका आधारमा बेपत्ताको सत्यतथ्य अनुसन्धान गरी सिफारिस गर्न आफू स्थलगत अध्ययनमा आएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए । ‘आयोगले पाएको समयावधिमै तोकिएका काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको छ’, अध्यक्ष सुवेदीले भने ।

‘अनुसन्धानपछिका प्रक्रियाका लागि कानूनको अभाव रहे पनि अनुसन्धानका लागि विद्यमान कानूनले अवरोध नगर्ने भएकाले उपलब्ध कानूनी अवस्थालाई अधिकतम उपयोग गर्छौं’, अध्यक्ष सुवेदीले भने । द्वन्द्वपीडितमैत्री कानून नभएको आफूले सुनेको बताउँदै त्यसका लागि सुझाव दिएको सुवेदीले बताए । सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने रोल्पामा विभिन्न माध्यमबाट कूल उजुरी १३२ परेका छन् । तीमध्ये ३२ वटा उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ । यसैगरी उजुरीकर्ताको अनुरोधमा तीन उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाइएको छ ।

तामेलीमा पाँच उजुरी छन् । विस्तृत छानविन गर्ने भनी आयोगबाट ९८ उजुरीको निर्णय भइसकेको आयोगले जानकारी दिएको छ । आयोगले ९८ उजुरीलाई कारवाहीयुक्त उजुरीका रुपमा राखेको छ । उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या ९९ छन् । आयोगका सदस्य विश्वप्रकाश भण्डारी, डा.गङ्गाधर अधिकारी, सुनिल रञ्जनसिंह र सरिता थापासँगै आयोगका कर्मचारी संलग्न छन् । सदरमुकामको जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा चार वटा कार्यटोली बनाएर अनुसन्धानको काम गरिरहेको आयोगका सचिव कृष्णजीवी घिमिरले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed