Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन २८, बैतडी । बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी दिए । अस्पताल परिसरभित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ ।

‘शंकास्पद बिरामीको खकार र सिगानको नमूना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ’, उनले भने, ‘कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारी स्वरुप जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको हो’, यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा केही दिन अघिदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेर त्यहाँबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य नियमित रुपमा भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा सीमा नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सो कक्षबाट अहिले सम्म ४५० बढी नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको छ । नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीले नेपाल फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।

नगरप्रमुखद्वारा हेल्प डेस्क अनुगमन

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षको अनुगमन गरिएको छ । दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापा लगायतको टोली सहायता कक्षबाट प्रदान भइरहेका सेवाको अनुगमन गरेका हुन् । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा फागुन १० गते मात्रै झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो । नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्यकर्मीहरुले सहायता कक्षमा सेवा दिने हिसाबले खटाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

सीमा नाकाको स्वास्थ्य कक्षलाई प्रभावकारी बनाउन नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको र नाकामा आवतजावत हुने बेलासम्म स्वास्थ्यकर्मीले सेवा दिने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख थापाले बताए । नाकामा स्थापना गरिएको सहायता कक्षमा इन्फ्रारेड थर्मो्मिटरको सहयताले भारतबाट फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

४३० को स्वास्थ्य परीक्षण

स्वास्थ्य सहायता कक्षमार्फत अहिलेसम्म ४३० जनाको स्वास्थ्य परीक्षण गरिसकिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिए । झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउन पहल भइरहेको उनले बताए । उनले भने, ‘भारतबाट नेपाल फर्किने नागरिकलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्रै नेपाल भित्रिने गरेका छन् ।’ विश्वभर कोरोनाको जोखिम बढिरहेकाले पूर्वतयारी स्वरुप सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेको नगरपालिकाले जनाएको छ ।

सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने, रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अत्याधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा स्थापना गरिएको आइसोलोसन कक्षमा पठाइने भएको छ तर हालसम्म कुनै पनि नागरिकमा संक्रमण भेटिएको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed