![]()
२०७६ फागुन २३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख इन्जिनियर शेरबहादुर सुनारलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । इन्जिनियर सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अनुसन्धानको सिलसिलामा इन्जिनियर सुनारले आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरीत सेवाग्राहीसँग उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सवारी चालक खड्कालाई कमलामाई नगरपालिका, वडा नम्बर ७ बाट रंगेहात पक्राउ गरेको र इन्जिनियर सुनारलाई उनकै कार्यालयबाट नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको बिगो ७५ हजार रुपैयाँ कायम गरी सोही ऐन बमोजिमको सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।


