Breaking News.... EverestOnlineKhabar
September 26, 2026

Loading

२०७६ फागुन १९,
“बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरुसमेत लगाउनुहोला, म स्वास्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु । म हुर्कँदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद ।”

यी बाक्य लेखिएका सन्देश बारेकोट गाउँपालिकाको प्रत्येक गर्भवतीको घरमा पुगेको छ । गाउँपालिकाले गर्भजाँच गर्न स्वास्थ्य संस्थामा आएका प्रत्येक गर्भवतीलाई सन्देश कार्ड र बाबालाई चिठ्ठी लेखिएको पत्र घरका आफन्तलाई पठाएर विशेष सन्देश प्रवाह गरिरहेको छ । चिठ्ठीमा गर्भावस्थादेखि चेतनाको वृद्धि हुञ्जेलसम्मका कुराहरु लेखेर पटक पटक बालबालिकाको भविष्यका लागि अभिभावकलाई सम्झाउने काम गरिएको छ । घरमा अभिभावकहरु सो पत्र पढेर आफ्ना सन्तानका लागि गरिने कामको विषयमा जानकारी लिने गरेको बारेकोट गाउँपालिका–५ का वुद्धिजीवी जनकबहादुर शाहीले जानकारी दिए। गाउँपालिकाले सुरक्षित र संस्थागत सुत्केरी दर बढाउनका लागि ‘सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम’ समेत शुरु गरेको छ ।

सो कार्यक्रममार्फत गाउँपालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलालाई एउटा झोलाभित्र नङ्कट, मञ्जन, नुहाउने साबुन, कपडा सफा गर्ने साबुन, रुमाल, ऐना र काँइयो उपलब्ध गराउँदै आएको छ । तीन वर्षको अन्तरालमा संस्थागत सुत्केरी हुने दर बढेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए । सङ्घीय सरकारको कार्यक्रमअनुसार नियमित चार पटकसम्म गर्भ जाँच गर्ने महिलालाई रु दुई हजार र कर्णाली प्रदेश सरकारले थप रु दुई हजार, बहुक्षेत्रीय कार्यक्रममार्फत रु एक हजारको सामग्री उपलब्ध हुँदै आएको छ ।

अघिल्लो वर्ष बारेकोट गाउँपालिकाले सुत्केरीलाई थप रु एक हजार दिँदै आएको थियो । अहिले रु एक हजारको ठाउँमा आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य संस्था आउन जान मात्र दिनभर लाग्ने यहाँका ग्रामीण गाउँका महिलाहरु अहिले स्वास्थ्य सेवा जसरी पनि लिनुपर्छ भन्ने चेतनाका कारण सङ्ख्या वृद्धि भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए।

तीन वर्षको तथ्याङ्क हेर्दा ५० प्रतिशतबाट अहिले ८१ प्रतिशत सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेको सङ्ख्या पुगेको अध्यक्ष शाहले जानकारी गराए। उनले भने, “नियमानुसार गर्भवती जाँच गरी परामर्श लिनेको सङ्ख्या बढेको छ भने अपायक पर्ने ठाउँमा थप सहज बनाउनका लागि छ वटाभन्दा बढी सङ्घीय सरकारको कार्यक्रमअनुसार स्वास्थ्य संस्था निर्माण कार्य जारी रहेको छ ।”

आर्थिक वर्ष २०७३–७४ मा ३५ प्रतिशत, २०७४–७५ मा ५० प्रतिशत र २०७५–७६ मा ६५ प्रतिशतले नियमानुसार गर्भजाँच गराएको बारेकोट गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । अहिलेको अर्धवार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले बनाएको लक्ष्य पूरा भइसकेको स्वास्थ्य शाखाका प्रमुख सिंहले जानकारी दिए । त्यस्तै आव २०७३–७४ मा ५० प्रतिशत, आव २०७४–७५ मा ७२ प्रतिशत आव २०७५–७६ मा ८१ प्रतिशत गर्भवती महिलाहरु संस्थागत र सुरक्षित सुत्केरी भएको पाइएको छ । यस आवको लक्ष्य ९० प्रतिशत गर्भवतीलाई सुरक्षित र संस्थागत सुत्केरी गराउने रहेको भए पनि अहिले सो लक्ष्यको नजिक पुगिसकेको उनको भनाइ छ । बारेकोट गाउँपालिकामा सुरक्षित र संस्थागत सुत्केरी हुनेको सङ्ख्या अन्य स्थानीय तहको भन्दा बढिरहेको उनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed