![]()
२०७६ फागुन १८, काठमाडौं । समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले आफ्नो असफलता लुकाउन करको दर बढाएको भन्दै फिर्ता लिन माग गरिन् । संसदको सार्वभौमिकता मिचेर चोरबाटोबाट मन्त्रिपरिषदले कर थप्ने निर्णय गर्न नसक्ने भन्दै उनले पूर्वाधार विकास करको नाममा पेट्रोलमा सतप्रतिशत कर बढाउने निर्णयको घोर निन्दा गरिन् ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बूढीगण्डकी निर्माणका लागि डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने निर्णय गरेको भएपनि अहिले सरकारले पूर्वाधार विकास करको नाममा १० रुपैयाँ लिने निर्णय गर्नु उचित नभएको उनको भनाइ छ । आयल निगमले प्रदुषण कर, रोड करका नाममा उपभोक्ताबाट कर लिइरहेको उल्लेख गर्दै उनले सरकारले जनतालाई मुर्ख बनाएर दोहोर कर लगाइएको बताइन् । गत माघ १२ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वाधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर बढाउने निर्णय गरेको थियो ।


