![]()
२०७६ फागुन १३, पोखरा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता पक्राउको विरोधमा पोखराको पृथ्वी नारायण (पीएन) क्याम्पस तनावग्रस्त बनेको छ । आफ्ना नेता राजेश हमाल (रेशम)लाई पक्राउ गरेको विरोधमा नेवि संघले मंगलबारदेखि क्याम्पस प्रशासनमा ताला लगाएको थियो । प्रहरीले क्याम्पस प्रशासनमा लगाएको ताला खुलाउन खोजेपछि अहिले झडपको स्थिति सिर्जना भएको छ । गत माघ ८ गते अनेरास्ववियू र नेवि संघका नेताबीच क्याम्पसमा झडप भएको थियो । झडपमा अनेरास्ववियूका केही नेता–कार्यकर्ताहरु घाइते भएका थिए ।
घाइतेहरुले नेवि संघ नेता हमालविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले हमाललाई पक्राउ गरेको थियो । नेवि संघले भने हमालको पक्राउविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेको छ । नेवि संघको पीएन क्याम्पस इकाई समितिले क्याम्पस गेटमा चक्काजाम, विरोध प्रदर्शन, सडक अवरुद्ध गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।


