Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन ०८, काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट आज सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै गृहसचिव न्यौपानेले सबै प्रदेशका शान्ति सुरक्षाको अवस्था दुरुस्त राखी जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन निर्देशन दिए ।

प्रदेशका प्रहरी प्रमुखलाई सम्बोधनलगत्तै प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानसमेतलाई उनले शान्ति सुरक्षा अमनचयन कायम गर्ने कामका कुनै सम्झौता नगर्न निर्देशन दिए । आतकङ्वाद एवं विध्वंसात्मक गतिविधि तथा अपराध नियन्त्रणमा क्रियाशील रहन उनले आग्रह गरे । प्रहरी कर्मचारीले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिविम्ब प्रस्तुत हुने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भने, ‘हाम्रो व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्ने तरिकाजस्ता कुरामा थप मर्यादित, सभ्य र सुसंस्कृत हुनु आवश्यक छ ।’ उनले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको आवश्यक सहयोग रहने बताए ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई सम्पादन गर्न प्रहरी कटिबद्ध रहेको बताए । प्रहरी महानिरीक्षक ज्ञवालीले सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सफल बनाउन प्रहरी अझ क्रियाशील, निर्भिक र कर्तव्य पालनामा समर्पित रहेको उल्लेख गर्दै प्रहरी सङ्गठनलाई उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed