![]()
२०७६ फागुन ६, काठमाण्डौ – चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको हो । उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो ।
यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको थियो । उनीमाथि कारबाही पनि गरिएको थियो । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म १८ सय ६८ जनाको मृत्यु भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको मृत्यु भएको हो । १८ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ ।
कोरोनाका कारण चीनबाहिर चार जनाको मृत्यु भइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको मृत्यु भएको छ । बेइजिङमा रहेको वित्तीय र समाचार मिडिया सङ्गठन, केग्सनले कोरोनाका कारण तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताएको छ । यो सङ्ख्या चीन सरकारले दाबी गरेको भन्दा झण्डै दोब्बरले बढी हो ।


