![]()
२०७६ माघ २४, काठमाडौँ । नेपाली काँग्रेसले आज शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ । शुक्रबार बिहान संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको सो पार्टीको बैठकले संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । ‘आज बसेको संसदीय दलको बैठकले संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । काँग्रेसले राजनीतिक पूर्वाग्रहसहित आफ्नो दलका उपनेता समेत रहेका विजयकुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै बिहीबारको संसद बैठक पनि अवरोध गरेको थियो ।
अख्तियारले गच्छदारसहित १७५ जनाविरुद्ध वालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको थियो । त्यसपछि काँग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर राजनीतिक पूर्वाग्रहकै आधारमा गच्छदारमाथि मुद्दा दायर गरेको भन्दै आपत्ति जनाएको थियो । अख्तियारको उक्त कदमविरुद्ध काँग्रेसले आफ्ना भ्रातृ सङ्गठनलाई सडकमा उतार्ने तयारी गरेको छ ।


