![]()
२०७६ माघ २१, पाल्पा । आजभन्दा करीब दुई दशकअघिसम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुँदैनथ्यो । मादल बनाएरै केहीले जीविका चलाएका पनि थिए । पछिल्लो समय भने हातमा सीप भए पनि मादल बनाउन सिपालु व्यक्तिका दिन भने फुर्स्दिला बनेका छन् । गाउँमा काठको अभाव, बजारमा छरपस्ट तयारी अवस्थामा आएका मादल भित्रिन थालेपछि मादल बनाउने पुरानो पेशा अहिले सङ्कटमा छ । आजभन्दा १५ वर्षअघि पाल्पास्थित रामपुर नगरपालिका–८ बस्ने ५२ वर्षीय रामबहादुर गन्धर्वले मादल बनाएर राम्रै कमाइ गर्थे । त्यस समय उनलाई मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो ।
गाउँघरमा हातले बनाएका मादल खरिद गर्न आउने ग्राहकको दिनहुँ भीड लाग्दथ्यो । मादल बनाएर गन्धर्वले परिवारको जीविका चलाउँदै आएकामा पछिल्ला समयमा भने काठको अभावमा पेशा नै सङ्कटमा पर्न गएको बताउँछन् । ‘पहिला त मादल बनाएर दिन बितेको पत्तो हुँदैनथ्यो, अहिले मादलप्रति खासै आकर्षण पनि छैन, व्यापारमा कमी आउँदा पेशा नै धरापमा छ’, गन्धर्वले भने । उनले जीवनको तीन दशक समय मादल बनाएरै बिताए तर यो पेशा संरक्षणमा स्थानीय तह, विभिन्न सङ्घसंस्था, व्यक्ति कसैबाट पनि सहयोग नभएको उनी गुनासो गर्छन् । ‘गाउँमा कसैले मादल बनाउँदैनन्, पुरानो पेशा जोगाउन भनेर निरन्तर लागि परिरहेको छु तर यसको संरक्षणमा कसैले अहिलेसम्म सहयोग गरेका छैनन्’, उनले दुःखेसो पोखे ।
अहिले गाउँघरमा पहिलाजसो काठ पनि पाइँदैन । मादल बनाउन काठको समस्या परेपछि गन्धर्वले १५ वर्षयता भने पोखराबाट घार खरिद गरेर भए पनि पेशालाई आजसम्म निरन्तरता दिएका छन् । काठको व्यवस्था भएमा पेशालाई जोगाउँदै आफूले सक्दासम्म मादल बनाउने गन्धर्वको भनाइ छ । उनले बाउबाजेबाट सीप सिकेर १८ वर्षको उमेरदेखि व्यावसायिक तवरले मादल बनाउन थालेका हुन् । एउटा मादललाई ‘साइज’ हेरेर रु दुई हजारदेखि चारसम्ममा बिक्री गर्छन् । पछिल्लो समय रामपुरमा बस्ती बढ्दै जाँदा विभिन्न ठाउँठाउँमा पसलहरु खुलेका छन् । बाहिरबाट तयारी अवस्थामा आएका मादलले पसल ढाकेका छन् । त्यसले गर्दा पनि धेरैको आकर्षण पसलमा राखिएका तयारी मादलमा बढ्दो छ । बाहिरबाट बजारमा आएका मादल सस्तो मूल्यमा पाइने भएपछि पनि ग्राहकको अहिले गाउँघरमा हातले कुँदेर बनाइएका मादलमा ध्यान गएको पाइँदैन । काठ नपाउँदा पुरानो पेशा जोगाउनै समस्या परेकाले आफूले सीप सिके पनि व्यावसायिकरूपमा अँगाल्न नसकेको गन्धर्वका छोरा बेगबहादुर बताउँछन् । ‘हातमा सीप छ तर बजार नभएपछि अन्यत्र पेशा व्यवसाय गर्नैप¥यो, कतैबाट काठको व्यवस्थापन भइदिएमा मादल बनाउने पेशालाई नै अगाडि बढाउने धोको छ’, उनले भने ।
अझै पनि केहीले त राम्रो मादल चाहियो भनेर गाउँमै हातले बनाएका मादल खोज्न आउने गरेको उनी बताउँछन् । मादल बनाउने पेशा संरक्षणमा कसैको ध्यान नजाँदा पेशा नै धरापमा पर्न थालेको छ । मादल बनाउने पेशा संरक्षण गर्न आवश्यक सामग्री सहयोगका लागि अहिलेसम्म वडा कार्यालयमा माग नआएको नगरपालिका–८ का अध्यक्ष बोमबहादुर नामजाली बताउँछन् । ‘सम्बन्धित पेशामा आबद्ध व्यक्तिले मादल बनाउने पेशालाई जोगाउँदै यसैबाट आयआर्जन गर्न वडा कार्यालयमा आवश्यक सहयोग माग गरेमा वडा कार्यालयले सहयोग गर्नेछ, वडा अध्यक्ष नामजालीले भने ।


