![]()
२०७६ माघ २१, काठमाडौं । कोरोना भाइरस संक्रमित एक व्यक्तिको हङकङमा मृत्यु भएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो । यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्काे घटना हो । यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा मृत्यु भएको थियो । साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको मृत्यु भएको जनाएको छ । मृत्यु हुने व्यक्तिको परिचय भने खुलाइएको छैन । पत्रकार सम्मेलन गरेर यसबारे विस्तृतमा जानकारी दिने त्यहाँका सरकारी अधिकारीको तयारी छ ।
समाचारमा जनाइअनुसार, कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको मृत्यु भएको हो । उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए । उनीबाटै आमामा पनि सरेको पाइएको छ । २१ जनवरीमा हुबेई प्रान्तको वुहानमा रहेका ती व्यक्ति त्यसको दुई दिनपछि गोन्जाउ–सेन्जन–हङकङ एक्सप्रेस रेल लिंकमार्फत हङकङ फर्किएका थिए । समाचारमा जनाइएअनुसार ३१ जनवरीमा उनलाई ज्वरो आएको थियो । लगत्तै उनलाई कोरोनाको आशंकामा क्विन एलिजावेद हस्पिटलमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा ती बिरामीमा कोरोना भाइरस भेटिएपछि प्रिन्सेस मार्गरेट हस्पिटलको छुट्टै वार्डमा सारिएको समाचारमा उल्लेख छ । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको हो ।
चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस अहिले २२ देशमा फैलिएको छ । यसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो भाइरसका कारण चीनमा अहिलेसम्म ४ सय २५ जनाको मृत्यु भइसकेको छ । २० हजार ४ सय ३८ संक्रमित भएका छन् । त्यस्तै, हङकङमा १५, मकाउमा ८ र ताइवानमा १० कोरोना संक्रमित बिरामी भेटिएका छन् । एसियाका अन्य देशमा ९७, युरोपमा २१, उत्तर अमेरिकामा १५ र अस्ट्रेलियामा १२ बिरामी फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


