Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ माघ २०, कास्की । साहसिक खेल प्याराग्लाइडिङको विकासमा नेपाली सेनाले चासो दिएको छ । आन्तरिक र बाह्य पर्यटकको प्रमुख आकर्षणका रुपमा रहेको यसलाई पछिल्लो समय राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलकुद प्रतियोगितामा खेल विधाका रुपमा समावेश गर्न थालिएसँगै सेना आफ्नो छुट्टै पाइलटको टोली तयारीमा जुटेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सेनाको टोलीले देशका विभिन्न स्थानबाट परीक्षण उडान गर्दै नयाँ नयाँ प्याराग्लाइडिङ गन्तव्यको विकासमा सघाउने योजना बनाएको छ । त्रिभुवन आर्मी क्लबअन्तर्गत प्याराग्लाइडिङ टोली तयार गर्न गत भदौमा सेनाभित्र देशभरबाट छनोट गरिएका २३ सदस्यले अहिले प्रशिक्षण गरिरहेका छन् ।

दक्ष पाइलट तयार गरी देशका लागि राष्ट्रिय अन्तर्रा्ष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सेनाका २० पुरुष र तीन महिला पोखराको एशियन प्याराग्लाइडिङ एकेडेमीबाट एक महिनाको आधारभूत कोर्स सम्पन्न गरेर ‘एडभान्स’ तालिममा छन् । गतवर्ष नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक यो खेल समावेश गरिएको थियो । त्यसबेला बाहिरबाट खेलाडी लिएर सेनाले प्रतियोगितामा सहभागिता जनाएको थियो । राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता सागर जलारी नेपाली सेनामा आवद्ध भएर टोलीलाई प्रशिक्षण दिइरहेका छन् । त्यसैगरी इण्डोनेशियामा सम्पन्न एशियन खेलकुदमा प्याराग्लाइडिङतर्फ नेपालले पहिलोपटक पदक जितेपछि यस खेलको देशभित्र र बाहिर चर्चा चुलिएको थियो ।

सेनाको पश्चिम पृतनाअन्तर्गत तालीम शिक्षालयका शिक्षा अधिकृत प्रमुख सेनानी अर्जुन बस्नेतले प्याराग्लाइडिङको विकासमार्फत राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरका पाइलट उत्पादनका लागि सेनाभित्र छनोट भएकालाई प्रशिक्षण दिइएको बताए । एक महिनाको विभिन्न चरणकोे तालीमपछि अब ‘एडभान्स’ तालिम शुरु गर्न लागिएको जनाइएको छ । टोली सराङकोटको तोरीपानीबाट उडान भर्दै फेवा किनार खपौदीमा अवतरण गर्दे प्रशिक्षणमा जुटेको छ । पोखरा बाहेक टोलीले उदयपुरको बेलगा नगरपालिकामा अभ्यास गरेको थियो । धरानको दानाबारी र लमजुङको राइनासकोटमा सेनाको टोलीले परीक्षण उडान गरेको बताइन्छ । ‘राष्ट्रिय अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा समावेश हुन थालेपछि यसको विकास हाम्रो प्रत्यक्ष सरोकारको विषय हो, खेलकुदको पूर्वाधार विकास तथा इभेन्ट विकासमा सेनाको योगदान रहँदै आएको छ’, सेनानी बस्नेतले भने, ‘खेलको विकासका लागि हाम्रो आफ्नै टोली र उपकरण तयार गर्दै राज्यलाई सहयोग गर्नेछौँ ।’

सेनाले एडभान्स तालिमपछि प्रशिक्षार्थीलाई उनीहरुको रुची र क्षमताअनुसार ‘एक्युरेसी’ र ‘क्रसकन्ट्री’ विधातर्फ वर्गीकरण गर्ने योजना बनाएको छ । तालिमको दौरान सेनाका खेलाडीले १३० उडान भरिसकेको बताइन्छ । करिब १८० देखि २०० उडान भरेपछि मात्र अनुभवी पाइलट मानिनेछ । सेनाले भ्रमण वर्ष सफल बनाउन सन् २०२० भरी देशका विभिन्न स्थानमा परीक्षण उडान गर्न स्थानीयवासीलाई सघाउनेछ । स्थानीयस्तरमा जुनसुकै ठाउँबाट प्याराग्लाइडिङ उडान परीक्षण गर्न अनुरोध भएमा सेनाको टोलीले सघाउने जनाइएको छ । ‘देशका कुनै पनि स्थानबाट परीक्षणका लागि माग आउने बित्तिकै हाम्रो टोली आफ्नै साधन स्रोतसहित पुग्छौँ र परीक्षण गर्दछौँ । भ्रमण वर्षभरि उडिरहन्छौँ’, बस्नेतले भने ।

पोखरामा आगामी फागुन ११ देखि १७ गतेसम्म हुने प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपमा आठौँ खेलकुदमा स्वर्ण विजेता जलारीले प्रतिस्पर्धा गर्नेछन् । नवौँ राष्ट्रिय खेलकुदका लागि जलारीले टोली निर्माणको तयारी गरिरहेका छन् । उनले भने, ‘दैनिक उडान भइरहेको छ, सबै उत्साहित छौँ, तालिम राम्रो भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुदमा आफ्नै टोली तयार गर्दैछौँ ।’ वल्र्ड कपको सुरक्षाको जिम्मेवारी सेनाले लिएको छ । सुरक्षाका विषयमा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश जान नदिन र अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सुरक्षाको कुनै कमजोरी हुन नदिने उद्देश्यले सेनाको मेडिकल, एम्बुलेन्स तथा डुङ्गा तयारी अवस्थामा रहने बताइन्छ । त्यसैगरी सराङ्कोट टावरबाट प्रतियोगितामा सहभागी खेलाडीलाई उडानदेखि अवतरणसम्मको निगरानी गर्ने गरी तयारी गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed