Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ माघ ०६, रौतहट । तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने गाडीको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । चालु आवको ६ महिनामा वीरगञ्ज भन्सार कार्यालयले कूल राजश्वको ७० प्रतिशतमात्र राजश्व असुली गर्न सकेको सो कार्यालयले जनाएको छ । सङ्घीय सरकारले चालु आवको पुस मसान्तसम्म रु ९७ अर्ब ५२ करोड ६५ लाख १६ हजार राजश्व उठाउने लक्ष्य लिएको थियो । तेस्रो मुलुकबाट भित्रिने गाडीको आयातमा भने कमी आएको छ ।

सो अवधिमा भन्सार कार्यालयले ७० प्रतिशत अर्थात् ६८ अर्ब ७० करोड ३८ लाख ६९ हजारमात्र राजश्व असुली गरेको सो कार्यालयका सूचना अधिकारी विमलकुमार साहले राससलाई बताउनुभयो । तोकिएको भन्सार राजश्व लक्ष्य प्राप्ति गर्न तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारीसाधनको मुख्य भूमिका रहन्छ । “चालु आवको ६ महिनामा २१ प्रतिशतले गाडी आयात घटेकाले पनि राजश्व प्रभावित भएको छ”, सूचना अधिकारी साहको भनाइ थियो । त्यसबाहेक पेट्रोलियम पदार्थ तथा क्लिङ्करको आयातमा कमी आएकाले राजश्व प्रभावित भएको हो ।

कार्यालयले भन्सार महसुलतर्फ चालु आवको पुस समान्तसम्म ४१ अर्ब ७८ करोड २२ लाख ७८ हजार लक्ष्य राखेकोमा ७० प्रतिशतले अर्थात् २९ अर्ब २६ करोड ७५ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । मूल्य अभिवृद्धि करतर्फ ३९ अर्ब ४६ करोड ९८ लाख ८४ हजार राजश्व उठाउने लक्ष्यमा ७२ प्रतिशत अर्थात् २८ अर्ब ५६ करोड ७१ लाख ३७ हजार राजश्व सङ्कलन गरेको छ । यसैगरी सो कार्यालयले अन्तःशुल्कतर्फ १६ अर्ब २९ करोड ४३ लाख ५४ हजार राजश्व उठाउने लक्ष्य रखेकोमा ६७ प्रतिशत अर्थात् १० अर्ब ९३ करोड ९१ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ ।

पाम तेलको कच्चापदार्थ आयातमा कमी आएकाले राजश्व प्रभावित भएको छ । भारत सरकारले हालै मात्र रिफाइन्ड पाम र पामोलिन तेल भारततर्फ पैठारी गर्नमा रोक लगाएपछि नेपालमा आयात हुने सो तेलको कच्चापदार्थ आयातमा कमी देखिएकाले राजश्व प्रभावित हुँने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed