Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा विभागलाई पूर्णता दिनेमा भने अझै अलमलमा छ । विभागका प्रमुख, उपप्रमुख र सचिवसहित बढीमा ३५ सदस्यीय कमिटी रहने भनिए पनि अहिलेसम्म गठन हुन नसक्दा विभागले कामसमेत गर्न सकेको छैन । नेकपाका ३२ विभागले पूर्णता नपाएसँगै करीब एक हजार १२० नेता–कार्यकर्ताले जिम्मेवारी पाएका छैनन् ।

पटक पटक छलफल हुँदै अनिर्णित रहेकामा गत साउन ३१ गतेको सचिवालय बैठकले ३२ विभागका प्रमुख र उपप्रमुख चयन गरेको थियो । विभागहरुले पार्टी कार्यालय र महासचिव विष्णुप्रसाद पौडेललाई विभागका सदस्यको विवरण उपलब्ध गराए पनि सचिवालय बैठकले अनुमोदन नगरेको कारणले पूर्ण नभएका हुन् । पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले अहिलेसम्म २० विभागका सदस्यको विवरण प्राप्त भएको जानकारी दिए । ‘विभाग प्रमुख र उपप्रमुखले पार्टी कार्यालय र महासचिवलाई विभागमा रहने सदस्यको विवरण बुझाइरहनुभएको छ’, उनले भने, ‘हामीले सचिवालय बैठकमा चाँडै ती नाम विवरण पेश गर्ने छौं ।’

उनका अनुसार विदेश मामला, कोष तथा आर्थिक व्यवस्थापन, पुस्तकालय तथा अभिलेख, खानेपानी तथा सरसफाइ, स्कुल विभागलगायतले सदस्य विवरण बुझाइसकेका छन् । प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले आफ्नो विभागलाई चाँडै पूर्णता दिइने बताए । ‘हामी प्रमुख र उपप्रमुख बसेर पूर्णता दिने भन्नेबारेमा विभिन्न चरणमा छलफल भएको छ’, उनले भने,‘राष्ट्रियसभाको निर्वाचनपछि सचिवालय बैठकलाई विभागका सदस्यको नामावली पठाउँछौँ ।’

उनले सचिवालय बैठकले नामलाई अनुमोदन गरेपछि प्रचार विभागले पूर्णता पाउने बताए । प्रचार विभागका प्रमुखमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ जो अहिले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेका छन् । नीति अनुसन्धान प्रतिष्ठान विभागमा प्रमुख झलनाथ खनाल र उपप्रमुखमा रामचन्द्र झा, विदेश मामला विभाग प्रमुखमा माधवकुमार नेपाल तथा उपप्रमुखमा सुरेन्द्र कार्की र विष्णु रिजाल, स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल र उपप्रमुखमा देवेन्द्र पौडेल, सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा एवं अर्थ तथा योजना विभागमा सुरेन्द्रप्रसाद पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्याय रहेका छन् ।

विदेश विभागका उपप्रमुख कार्कीले विभागका सदस्यको नामावली पार्टीलाई बुझाइएको जानकारी दिए । पार्टीले बुझाएको विवरणका आधारमा सचिवालय बैठकले नामवलीलाई अनुमोदन गर्दै विभागलाई पूर्णता दिने उनले बताए । स्कूल विभाग उपप्रमुख पौडेलले मोटामोटी रुपमा विभागका सदस्यको नाम पार्टीमा पेश गरिएको बताए । ‘हामीले पहिल्यै विभागका सदस्यको नाम पार्टीलाई बुझाइसकेका छौँ’, उनले भने,‘सचिवालयले सबै विभागको नाम सङ्कलन गर्दैछ । सचिवालय बैठकले सबै विभागका विवरण प्राप्त भएपछि एकै पटक विभागलाई पूर्णता दिने तयारी रहेको छ ।’

युवा तथा खेलकूद विभागका उपप्रमुख ठाकुर गैरले विभाग गठनसम्बन्धी कुनै छलफल नभएको बताए । प्रादेशिक मामला विभाग प्रमुखमा घनश्याम भुसाल र उपप्रमुखमा परशुराम तामाङ, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा चक्रपाणि खनाल र उपप्रमुखमा हरि पराजुली, राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रामबहादुर थापा र उपप्रमुखमा गुरूप्रसाद बराल एवं शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा गिरिराजमणि पोखरेल र उपप्रमुखमा विजय पौडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed