Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माद्द ०१, बाँके । जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ । तत्कालीन राजा महेन्द्रले बसालेका भूतपूर्व सैनिकमध्ये केहीमात्र जीवित छन् । भूतपूर्व सैनिकका सन्तति पनि नेपाली, भारतीय र ब्रिटिस सेनामा भर्ती भएका छन् । हाल खजुरा गाउँपालिका–१ मा पर्ने राधापुरमा ७६५ घरधुरीमध्ये ८५ प्रतिशत परिवारमा नेपाली, भारतीय र ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका परिवार छन् । राधापुरस्थित एउटा गाउँको नाम नै सैनिकगाउँ छ । ‘अधिकांश घरमा कुनै न कुनै देशको सेनामा जागिर खाएका व्यक्ति भेटिन्छन्’, वडा नं १ का वडाध्यक्ष सुमन मल्लले भने ।

दीर्घकालीन सोचका साथ तत्कालीन राजा महेन्द्रले भूतपूर्व सैनिकलाई सीमामा बसालेका थिए । महेन्द्रले जुनसुकै देशबाट सेवानिवृत्त भएका सैनिकको पेन्सनपट्टाका आधारमा जमीन दिएको भारतीय सेनाबाट सेवानिवृत्त मनबहादुर रानाले बताए । उनले पेन्सनपट्टाका आधारमा एक जनाले चार बिघाका दरले जमीन पाएको बताए । त्यतिबेला सेनाको जागिरबाट सेवानिवृत्त भएकालाई पेन्सनपट्टाजस्तै सिक्का दिने चलन थियो । त्यही सिक्का देखाएपछि जमीन आफ्नो नाममा पाइन्थ्यो । ‘सेवानिवृत्त भएको कागज देखाएपछि राजा महेन्द्रको हुकुमी आदेशमा निःशुल्क जमीन पाइन्थ्यो’, उनले भने, ‘निःशुल्क जमीन पाइने भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने सेवानिवृत्त सैनिक सीमाक्षेत्रमा आएर बसोबास गर्न थाल्यौँ ।’

भारतीय सेनाबाट सेवानिवृत्त रानाका अनुसार नेपाल–भारत सीमामा बस्ने भूतपूर्व सैनिक स्वतःस्फूर्तरूपमा सीमा सुरक्षामा खटिएका छन् । राधापुरका भूतपूर्व सैनिकले स्वतःस्फूर्तरूपमा सुरक्षा गर्दै आएका उनले बताए । साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिशलगायत देशका भूतपूर्व सैनिकले सीमा सुरक्षा गर्दै आएका छन् । सो क्षेत्रमा भारतीय पक्षबाट जङ्गेपिलर सार्ने प्रयाससमेत पूर्व सैनिकले असफल पार्दै आएका छन् । राजा महेन्द्रले विसं २०२५ मा विभिन्न देशमा सेनामा जागिर खाएर सेवानिवृत्त भएकालाई नेपाल–भारत सीमामा बसालेका थिए । राजा महेन्द्रले जमीन दिएर राखेका सेवानिवृत्त सेना र उनीहरूका सन्ततिले अहिले नेपाल–भारतको दशगजामा रहेका सीमास्तम्भको रक्षा गर्दै आएका वडाध्यक्ष मल्लले बताए ।

दश वर्षे द्वन्द्वका बेला राधापुरसँग सीमा जोडिएको बर्दियाको जमुनीस्थित दशगजामा रहेको जङ्गेपिलर सार्ने प्रयास भारतीय पक्षले गरेको थियो । भारतीय पक्षको प्रयास स्थानीयवासीले असफल बनाएका थिए । तर, भूतपूर्व सैनिकको बाक्लो बसोबास रहेको राधापुरस्थित सीमाक्षेत्रमा रहेका जङ्गेपिलर हल्लाउने आँट भारतीय पक्षले अहिलेसम्म गर्न सकेको छैन । ‘भूतपूर्व सैनिकको बसोबास भएकै कारण भारतीय पक्षले राधापुर क्षेत्रमा एक इन्च पनि सीमा अतिक्रमण गर्ने आँट गर्न सकेको छैन’, राधापुरगाउँका पूर्वप्रधानपञ्च कमल पोखरेलले भने । सीमा नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय स्थापना भए पनि ती सुरक्षाकर्मीलाई सीमा सुरक्षा गर्ने जिम्माभन्दा अपराध तथा अवैध सामान ओसारपसार रोक्न परिचालन गरिएको छ ।

राधापुर क्षेत्रभित्र भारतीय पक्षले सीमा अतिक्रमणको प्रयाससमेत गर्न सकेको छैन । ‘भूतपूर्व सेनाका कारण भारतले यस क्षेत्रमा सीमा अतिक्रमण गर्ने प्रयाससमेत गर्न सकेको छैन’, पूर्वप्रधानपञ्च पोखरेलले भने, ‘सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन ।’ भारतले दशगजा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) राखेको छ । बाँकेसँग सीमा जोडिएका विभिन्न स्थानमा एसएसबीको क्याम्प खडा गरी सीमारक्षा गरिरहेको छ । बाँकेसँग सीमा जोडिएको क्षेत्रमा मात्र १० ठाउँमा क्याम्प खडा गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रत्येक ५०० मिटरको दूरीमा अस्थायी पोष्ट खडा गरी प्रत्येक पोष्टमा एक जनालाई ड्युटीमा खटाउने गरिएको छ ।

‘दशगजा क्षेत्रमा हिँडडुल गर्दासमेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले केरकार गर्छन्’, खजुरा–२ बलैपुरका भीम ओलीले भने । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा रेखदेखको जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनले सीमास्तम्भको सुरक्षा र रेखदेख गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताए । सीमास्तम्भको जानकारी लिन दुवै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती पनि बेला–बेलामा हुँदै आएको प्रजिअ खड्काले बताए । बाँकेसँग सीमा जोडिएको दशगजामा ३०७ पिलर रहेका उनले जानकारी दिए । यीमध्ये १७३ राम्रा र अन्य मर्मत गर्नुपर्ने अवस्थाका रहेका प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed