Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माघ ०१, कञ्चनपुर । थारू बस्ती रहेको पश्चिमको दाङदेखि कञ्चनपुरसम्म यतिबेला माघीपर्वको उल्लास छाएको छ । थारू समुदायको प्रमुख चाड माघीका अवसरमा कञ्चनपुरमा थारू समुदायको बसोबास रहेको बेलौरी, पुर्नबास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम भइरहेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाका उपप्रमुख चित्राकुमारी चौधरीले बेलौरी क्षेत्रका थारू बस्तीमा माघीको रौनक बढेको बताए ।

‘केही दिनदेखि निरन्तर माघी मिलन कार्यक्रम भइरहेका छन्’, उनले भने, ‘माघी हाम्रो परम्परागत पर्व हो ।’ वर्ष दिनमा थारू समुदायको सबैभन्दा विशेषरूपमा मनाइने माघीका अवसरमा यहाँ विभिन्न मेला महोत्वसदेखि थारू बस्तीमा परम्परागत नृत्यले रमाइलो गरी मनाइँदैछ ।

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

थारू समुदायको गीतमा भनिएझै थारू समुदायमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा छन् । माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी योे पर्वमा थारू समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् । माघी थारू समुदायले नयाँ वर्षका रूपमा समेत मनाउने गरेका छन् । थारू महिला मञ्च कञ्चनपुरका अध्यक्ष भारती चौधरीले परम्परागत थारू संस्कृतिले भरिएको माघी पर्व संरक्षण एवं संवद्र्धनका लागि समुदायका अगुवा र स्थानीय सरकारले जोड दिनुपर्ने बताए ।

‘एक÷दुई दिन पर्व मनाएर मात्रै पुग्दैन’, उनले भने, ‘दीर्घकालीनरूपमा यसको जगेर्नाका लागि सोच्नुपर्ने बेला पनि आइसकेको छ ।’ थारू समुदायले माघीपर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रूपमा लिने प्रचलन रहेको चौधरीको भनाइ छ । ‘बडघर र भलमन्सा छनोट गर्ने प्रचलन रहे पनि उनीहरुको सम्मान भने पहिलेको जस्तो छैन’, उनले भने, ‘पहिलेको जस्तो रायसुझाव लिएर समाजका लागि काम गर्ने परम्परा पनि कम हुँदै गएको छ ।’ त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ ।

माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारू भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको भीमदत्तनगरका बेदकुमार चौधरीको भनाइ छ । उनले परम्परागतसँगै आधुनिक थारू गीतले यतिबेला माघीको रौनक बढाएको बताए । माघीको अघिल्लो दिन राति थारू समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछन् ।

‘के बुढा के तन्नेरी सब एकै ठाउँ भेला,
वर्ष दिनको पसिनालाई आज सुकाएर
मिठो खाने राम्रो लाउने, रहर फुकाएर
बल्ल आयो बर्ष दिनमा यति राम्रो चाड
हाम्रो घर निकाखेर बटुलीमा माड
कटौरीमा मासु अनि बटुकीमा जाँड
बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड
आफू पनि खाइदे साथी अरुलाई नि बाड
आज छैन कहीँ चिसो चुलो धुवाँ उठ्यो धुरधुरमा
हरसाल साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरुमा…’

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको चौधरीको भनाइ छ । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नास हुने धार्मिक मन्यतासमेत रहेको छ । माघीमा मनोरञ्जनका लागि घरमै मादक पदार्थसमेत उत्पादन गरेर खाने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed