Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

२०७६ पुस २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयका कर्मचारीहरुको समायोजन केही समयमभित्रै टुङ्गिने बताएका छन् । सरकारले अन्य समूहका कर्मचारी समायोजन टुङ्ग्याएपनि स्वास्थ्य सेवातर्फका कर्मचारी समायोजन सकसपूर्ण देखिएका बेला विभागीय मन्त्री ढकालले यस्तो दाबी गरेका हुन् । समायोजनको प्रकृयामा यसअघिको भन्दा धेरै काम भईसकेको भन्दै ढकालले ‘समस्याको पोको’ अब घट्दै गएको र केही आन्तरिक कारणले मात्रै समायोजनमा ढिलाई भएको जानकारी दिए ।

उनले भने ‘अब हामीलाई कसरी समाधान गर्ने भन्नेमा धेरै अन्योलता छैन, तर खास कर्मचारी नै परिवर्तन भएका कारण बीचमा केही काम रोकिएको हो, अब कर्मचारी प्रशासन महाशाखा हेर्ने नयाँ सहसचिव आउने र त्यसपछि पुनः सरुवाको चिट्ठी वितरणको कार्यले तीव्रता पाउँछ ।’ यसअघि समायोजन गर्दा पद घटुवामा परेका कर्मचारीहरुको समस्या समाधानका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको भन्दै यही सातादेखि ती कर्मचारीहरुलाई चिट्ठी दिइन थालिने जानकारी दिए ।

‘यसपछि करिब पन्ध्र सय देखि दुई हजार जना स्वास्थ्यकर्मीको समयोजन समस्या टुंगिन्छ, अन्य करिब ढेडरदुई सय पद तथा तह फरक परेकाहरुको पनि पत्र सच्याएर पठाइन्छ, करीब ४७ जिल्लामा दरबन्दी खाली भएको ठाउँमा जान चाहेका कर्मचारीको संख्या पनि ठूलो छ, अब उनीहरुको पनि सूची प्रकाशित गरिनेछ, त्यसपछि पनि बाँकी रहेकाहरुलाई भने पुल दरबन्दीमा राखेर व्यवस्थापन गरिने योजना छ,’ मन्त्री ढकालले भने ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालय र विभागका अधिकारीहरु हेरफेर गर्ने योजनासमेत रहेको बताए । १२ औँ तहको बढुवाको काम सकिएपछि यो काम शुरू गरिने उनले जानकारी दिए । ‘अहिले नै हेरफेर गर्दा पछि पुनस् परिवर्तन गर्नुपर्ने अवस्था आउने हुनाले पहिले १२ औँ तहको टुङ्गो लगाइने र त्यसपछि जिम्मेवारी परिवर्तनका कामहरु अघि बढाउने उनले जानकारी दिए । उनले भने,’यति गरिसकेपछि कर्मचारीमा अन्योलता हट्छ, अवान्छित कार्यको लागि सेटिङ भईरहेको रहेछ भने त्यो पनि भत्कन्छ ।’ अब छिट्टै विभिन्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र विकास समितिका अध्यक्ष नियुक्ति गर्ने कार्य पनि अघि बढाइने मन्त्री ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed