![]()
२०७६ पुस २९, काठमाडौँ । चर्चित तेलिगु चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्मस्ले चलचित्र निर्माणको अनुमति लिएको हो । युवा फिल्मस्को ब्यानरमा चलचित्र बन्ने केशव खड्का र आशिश श्रेष्ठले जानकारी दिए । ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्का तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
साउथ स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ करोड कमाई गरेको थियो । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । अभिनेता साहिद कपूर अभिनीत चलचित्रले बक्स अफिसमा ३ सय ७९ करोड कमाई गरेको थियो । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो ।


