Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस २७, कैलाली । धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका थारू समुदाय नजिकिँदै गरेको माघी पर्वको तयारीमा जुटेको पाइन्छ । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइलगायतका कार्यहरु धमाधम भइरहेको गाउँका वासिन्दा हनुमान चौधरीले बताए । उनले भने, ‘माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका पकवानहरु खाने चलन रहिआएकाले दाजुभाइहरु त्यसको खोजीमा जुटेका छन् ।’

यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका सहरबजार जान थालेका छन् । रोजगारीका लागि विदेसिएकाहरु पर्व मनाउनका लागि घर फर्कन थालेका छन् । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्नमा समुदायकी युवतीहरुलाई यतिबेला भ्याइनभ्याइ छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए ।

‘माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ’, अगुवा चौधरीले भने, ‘आशीर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नून, तेल, बेसारलगायतका खाद्यान्नहरु छुने र छुट्याइएका ती चीजहरु घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।’ पश्चिम नेपालको तराईका थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटालगायतका स्थानीय खानाका पकवानहरु खाने चलन छ । थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । त्यस्तै माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने तयारी पनि शुरु भएका छन् ।

थारू घरवास (होमस्टे) गाउँ भादाका विशेषता

पर्यटन वर्ष २०११ लाई लक्षित गरी स्थापना भएको कैलाली जिल्लाको साबिकको उर्मा गाविस–८ हाल ‘थारू होमस्टे गाउँ भादा’ एक छुट्टै विशेषता भएको गाउँका रुपमा चिनिन्छ । थारू समुदायको लोक कला, संस्कृति, संस्कारको विकासका साथै पर्यटकीय क्षेत्रको पहिचान गराउन एवं यस क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरुको जीवनस्तरमा परिवर्तन ल्याउन होमस्टे गाउँका रुपमा स्थापना भएको भादा गाउँ पर्यटक विकास तथा व्यवस्थापन समितिका व्यवस्थापक तथा भलमन्सा सन्तकुमार चौधरीले बताए ।

भलमन्सा चौधरीले भने, ‘भादामा हाल थारू होमस्टे घर २० वटा रहेका छन् । आन्तरिक तथा बाह्य आगन्तुक पाहुनाहरुलाई पालोअनुसारको घरमा लगेर हार्दिकपूर्वक स्वागत सत्कार गरी राखिन्छ ।’ दिनभर पर्यटकहरु भ्रमणबाट फर्किएपछि बेलुकी थारू समुदायको पारिवारिक वातावरण छुट्टै पहिचान दिने भान्साघरमा बसेर मेनुअनुसारका थारू परिकारका खानपिन गरी मनोरञ्जनका लागि थारू सांस्कृतिक नाचगान हेरी आनन्द लिन सकिने व्यवस्था छ ।

प्रत्येक होमस्टे घरमा स्नान घरसहित शौचालय सुरक्षित एवम् आरामदायी सुत्ने कोठाको व्यवस्था छ । भ्रमण गर्न चाहने पर्यटकहरु लहरुमा (व्यवस्थित गोरुगाडा) मा बसी जोगिन्या ताल, वेहडाबाबा मन्दिर, रामेश्वर मन्दिर, सहदेवा महदेवा ताल, कोइलहुवा कोइलही ताल लगायतका प्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलहरु अवलोकन गर्न सकिन्छ ।

धनगढीबाट करीब १७ किलोमिटरको दूरीमा अवस्थित थारू होमस्टे गाउँ भादामा थारू समुदायका लोकसंस्कृतिका रुपमा सखिया, झुमरा, मघौटा, लठौह्वा, बैठक्की, मुङ्ग्रहुवा, गुरुवा, लट्ठी लगायतका विभिन्न नाच आकर्षणका रुपमा रहेका छन् । प्राकृतिक तथा मानव निर्मित दृश्यहरुको अवलोकनका रुपमा ताल, जङ्गली जनावर, चरा, जङ्गल, बेहडाबाबा मन्दिर दर्शन, जगन्नाथ भुइहार (थारू देउथान) रहेका छन् । त्यसैगरी परम्परागत थारू कला झल्किने काठका आकर्षक खेलौना तथा सामग्रीहरु र कृषिमा आधारित दैनिक उपभोग्य सामग्रीहरु देख्न पाइन्छ ।

एकल समुदायको बसोबासका रुपमा चिनिने ‘भादा गाउँ’

अहिले २४२ घरधुरी सङ्ख्या रहेको होमस्टे गाउँ भादामा हालसम्म डगौंरा थारू जातिबाहेक अरू कुनै पनि अन्य जातिको बसोबास नरहेको छुट्टै गाउँका रुपमा भादा गाउँ रहेको गाउँका अगुवा चेतराम चौधरी बताउनुभयो । परापूर्वकालमा एकजना थारू गुरुवा भगौती दास ‘प्रकाण्ड’ भन्ने गुरुवाले दाङको हेकुँली, वैवाङ्ग हुँदै आएर स्वतन्त्र यो ठाउँ छनोट गरी जङ्गलको भएको फाटमा बस्ती बसालेको अगुवा चौधरीको भनाइ छ ।

थारू गुरुवा भगौती दासले भादा गाउँमा आफ्नो तान्त्रिक विद्याले आफ्नो कुलदेउता जगन्नथ्या (जगन्नाथ) देवलाई स्थापित गराई देवतालाई भाकल गरी अबदेखि यस गाउँमा थारू जातिबाहेक अरू कुनै जातिले बस्न नसक्ने तान्त्रिक विद्या लगाएको यहाँस्थित गाउँका स्थानीय अगुवाहरुले बताएका छन् । हालसम्म पनि कुलदेवता र तान्त्रिक विद्याले अरू जातिको मानिस स्थायी रुपमा यस गाउँमा बस्न चाहेमा मर्ने वा बिरामी परिराख्ने उदाहरणहरुसमेत रहेको किंवदन्ती छ । मनोरम भादा गाउँ वरिपरि नदीनाला, डाँडाकाँडा र चारैतिर वनजङ्गलबीच अवस्थित करीब ३५० हेक्टर क्षेत्रफलमा फैलिएको गाउँमा हाल एक हजार ७०० भन्दा बढी जनसङ्ख्या रहेको जनाइएको छ ।

होमस्टेले गर्दा गाउँको विकास हुँदै

पर्यटन वर्षलाई लक्षित गरी स्थापना भएको कैलाली जिल्लाको साबिकको उर्मा गाविस–८ हाल थारू होमस्टे गाउँ भादाका नामबाट चिनिएपछि गाउँमा केही विकास हुन थालेको गाउँका भलमन्सा सन्तकुमार चौधरीको भनाइ छ । गाउँमा पहिले खानेपानी, बाटोघाटो, बिजुली बत्तीलगायतका सुविधा नहरहेको तर हिजोआज ती सुविधाहरु घर आँगन अगाडि आइसकेको बताए । गाउँमा पुलपुलेसा चाहीँ नभएकाले स्थानीय सरकारले व्यवस्था गरिदिनुपर्ने यहाँका स्थानीयवासीको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed