![]()
२०७६ पुस २५, काठमाडौँ । गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सुपरहिट फिल्म ‘पर्खी बसेँ’को नयाँ सिरिज दर्शक माँझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा फिल्म ‘पर्खी बसेँ २’ निर्माण गर्न लागेको हो । फिल्म निर्माणको बिषयमा गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयनमुभी स्टुडियोको विनोद सापकोटाबीच विहीबार सम्झौता भएको छ । फिल्ममा निकिता र विनोद निर्माता रहने छन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सहनिर्माताको रुपमा रहने छन् ।
विक्रम संवत् २०६४ को चैत्र अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘पर्खी बसेँ’लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । यसको दोस्रो सिरिजको निर्देशन भने जिम्मा भने ‘लभ डायरिज’का निर्देशक सौभर चौधरीले गर्ने भएका छन् । पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने निर्देशक सौरभले बताए ।
फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने निर्माण टीमले जनाएको छ । फिल्मको पहिलो सिरिजमा राजबल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेतीलगायतको अभिनय रहेको थियो । गोपिकृष्णले निर्माण गर्ने फिल्मको टीम क्याप्टेन जिम्मा पाउनु आफ्ना लागि खुसीको कुरा भएको निर्देशक चौधरीले बताए । ‘पहिलो सिक्वेलको ब्राण्ड भ्यालु दोस्रोमा घट्न दिने छैन,’ चौधरीले थपे ।


