![]()
२०७६ पुस २३, सिमकोट– हिमाली जिल्ला हुम्लाको हवाई सेवा तीन दिनदेखि पुनः अवरुद्ध भएको छ । हिमपातका कारण विमानस्थलमा हिउँ जमेको र हावाहुरी चलेका कारण हवाई सेवा अवरुद्ध भएको हो । हिमपातका कारण चार दिन लगातार बन्दपछि खुलेको हुम्ला जिल्लाको एक मात्र हवाई सेवा मंगलबारबाट हिमपातको कारण पुनस् अवरुद्ध भएको छ । बिहानैबाट बाक्लो हिमपात हुँदा विमानस्थल सेताम्मे भएको छ । साथै बुधवार बिहानबाट हावाहुरी चलेपछि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएको छ ।
हिमपातकै कारण हुम्लाको हवाई सेवा तेस्रो पटक अवरुद्ध हुन पुगेको छ। बिहानबाटै तारा, समिट र सीता एयरका जहाजहरुले नेपालगंज र सुर्खेतबाट उडान भर्ने तयारी गरेको भएपनि हुम्लामा हिमपात भएपछि हावाहुरी चल्दा उडान हुन सकेको छैन । यसबाट सिमकोटबाट नेपालगंज र सुर्खेत झर्न लागेका दुई दर्जन यात्रुहरु सिमकोटमा रोकिएका छन्। चिसो पनि निक्कै बढेको छ।


