![]()
२०७६ पुस २३, काठमाडौँ – मसिंर अन्तिम साता बूढानिलकण्ठमा भएको कार दुर्घटनामा आफू कार भित्र रहेको नायिका परमिता राज्य लक्ष्मी राणाले स्वीकार गरेकी छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस लेख्दै उनले कारमा भएका ४ जनामा आफू पनि एक भएको बताएकी छन् । मसिंर २८ गते ४२ वर्षे लिला देवकोटालाई बूढानिलकण्ठ – ५ मा बाटोमा हिँड्दै गर्दा बा १४ च ६१२३ नंबरको कारले ठक्कर दिएको थियो । स्थायी घर गोरखा भई अहिले विष्णुमति बस्ने लिला देवकोटाको बाटोमा नै निधन भएको थियो ।
गाडी २१ वर्षका पृथ्वी मल्लले चलाएका थिए । उनले अत्यधिक मदिरा सेवन गरी कार चलाएको प्रहरीले जनाएको थियो । ती युवति परमिता नै हो भन्ने कुरा सार्वजनिक गरिएको थिएन । नायिका राणा आफैले त्यो कारमा आफू भएको बताएकी हुन् । परमिताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सबैभन्दा पहिले म माफी माग्न चाहन्छु । चार व्यक्तिले गरेको मुर्खतापूर्ण निर्णयका कारण एक निर्दोष व्यक्तिको ज्यान गयो । यो सत्य नहोस् र मात्रै खराब सपना होस् भन्ने चाहना भए पनि म पनि त्यो मुर्ख निर्णय गर्ने मध्ये एक हुँ । म पनि सो कारमा थिएँ ।’
ठूलो हिम्मत गरेर घटनाप्रति माफी माग्ने आँट गरेको बताएकी परमिताले अघि लेखेकी छन्, ‘माफी माग्न यति ढिला गरेकोमा पनि माफी चाहन्छु, म अझै पनि सो दुर्घटनाबाट विचलित अवस्थामा छु त्यसैले यति ढिला गरेँ । अप्रत्याशित घटनाले मलाई स्तब्ध बनाएको छ ।’ परमिताले लेखेकी छन्, ‘सन्तानले ममतामयी आमा गुमाए, श्रीमानले सहयोगी श्रीमतीको साथ गुमाए, मात्रै मुर्खतापूर्ण निर्णयका कारण । म हरेक दिन भारी मन र गम्भीर पीडामा बिउँझिन्छु, यो भगवानलाई मात्रै थाहा छ । सो घटनाले मेरो जीवन नै परिवर्तन गरेको छ र कहिले पनि पहिलेको जस्तो हुन सक्ने छैन ।’
आफ्नो मात्रै होइन अरुको रक्षा पनि जिम्मेवारी हो भन्ने कुरा पहिले नै बुझेको भए हुने जस्तो लाग्ने गरेको उनले उल्लेख गरेकी छन् । दुर्घटना लगत्तै आफू अत्तालिएको र डराएकाले भागेको उनले उल्लेख गरेकी छन् । परमिताले घटनाको विवरण भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी छन् । त्यसमा कारमा रहेका पुरुष साथीले आफूलाई बाहिर तानेर भाग्न भनेको दाबी गरेकी छन् ।


