Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २१, कपिलवस्तु । कपिलवस्तुको विभिन्न स्थानमा माघी महोत्सव हुने भएको छ । थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मेला लाग्ने थारू कल्याणकारी सभा (थाकस) कपिलवस्तुले जनाएको छ । वाणगङ्गा नगरपालिकाको गजेहडा, बुद्धभूमि नगरपालिकाको बरकुलपुर र शिवराज नगरपालिकाको चन्द्रौटा तथा भगवान्पुरमा जिल्लास्तरको मेला लाग्ने थारू अगुवा रामबहादुर थारूले बताए ।

शिवराज नगरपालिका–५, चन्द्रौटामा प्रथम नगरस्तरीय माघी महोत्सव यही माघ २ गते लाग्ने थाकस शिवराज नगरपालिकाको आयोजनामा हुने बताइएको छ । माघी महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । थारू समुदायको नयाँ वर्ष २६४४ का अवसर पारेर भव्य पर्वका रूपमा मनाउँदै आएको हुनाले यसलाई व्यवस्थित तरिकाले सांस्कृतिक लक्ष्य पूरा गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको थाकस नगर अध्यक्ष इन्द्रबहादुर थारूले बताए ।

‘थारू संस्कृति संरक्षण, संवद्र्धन आउर प्रवद्र्धन कयना हमन अभियान, न्याय, समानता आउर पहिचान सहितके सीमा बचयना हमन अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सव लगातार तीन दिनसम्म चल्नेछ । यस्तै महोत्सवलाई सभ्य र भव्य बनाउन १०१ सदस्यीय मूल समिति गठन गर्नाका साथै जिम्मेवारी बाँडफाँट गरिएको मूल समितिले जनाएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढी, भगवानपुरमा तेस्रो माघी मिलन सांस्कृतिक महोत्सव–२०७६ यही पुस २८ गतेदेखि हुने भएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा हुन लागेको महोत्सव तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

‘हमन संस्कृति हमनके सान, भूमिपुत्र थारू हमरे बचाई अपन पहिचान’ भन्ने मूल नाराका साथ माघ १ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवका मुख्य आकर्षणहरू थारू पुख्र्यौली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामग्रीको प्रदर्शन, झुम्रा, झररा, लाठी, मयूर, सजनी बिरहानीलगायतका थारू नृत्य, थारू खानाको परिकार, थारू वेशभूषाको प्रदर्शन, थारू समुदायसँग सम्बन्धित संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बताइएको छ ।

यसैबीच महोत्सवको आकर्षणका केन्द्रविन्दुका रूपमा गायिका तथा मोडल अञ्जु कुस्मी (फूलकुमारी), गायक तथा मोडल राज कुस्मी, आधुनिक, भोजपुरी तथा थारू गायक श्रीनिवास चौधरी, एरेन्जर तथा गायक गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक हरिनारायण चौधरी, खेम चौधरी, गायक सरगम चाधरी, गायक सिमान्त चौधरी, गायिका सोनु कुस्मी, मोडल प्रमिला चौधरी, सत्यनारायण फटेरा, मोडल रितु चौधरी, मोडल सुनिता दहित समेतले मनोरञ्जन दिने बताइएको छ ।

त्यसैगरी गायक श्याम सिटी, उत्तम चौधरी, गायक रञ्जित चौधरी, गायक विष्णु थारू, गायिका जया चौधरी, गायक विशाल चौधरी, गायक आर्यन चौधरी, मोडल शारदा चौधरीलगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक उत्तम थारूले जनाउनुभयो । माघ महिनामा पर्ने थारू समुदायको माघी पर्वको रौनक अहिले गाउँदेखि सहरसम्म सांस्कृतिक कार्यक्रमले झकमक्क हुने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed