Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २१ मुस्ताङ । मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका विरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा विरुवा वितरण गरिने जानकारी दिए । प्रतिविरुवा एक हजार १५० रुपैयाँ पर्ने हाई डेन्सिटी पाल्ट कृषकलाई प्रतिविरुवा ५७५ रुपैयाँमा र प्रतिविरुवा ७० रुपैयाँ पर्ने रेड डेलिसियस जातको स्थानीय स्याउ प्रतिबरुवा ३५ रुपैयाँमा वितरण गरिने कार्यालयले जनाएको छ ।

२७ हजार बिरुवाको माग भएकामा १५ हजार हाई डेन्सिटी पाल्ट र १२ हजार रेड डेलिसियस स्थानीय जातको स्याउको बिरुवा वितरण गरिने प्रमुख लम्सालले बताए। मुस्ताङको स्याउले बजार र उचित मूल्य पाउन थालेसँगै कृषकहरु स्याउ खेतीप्रति आकर्षित भएका छन् । मुस्ताङको लेते, घाँसा र कुञ्जो बाहेकका क्षेत्रमा व्यावसायिक स्याउ खेती हुन्छ । ‘जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा सात सय हेक्टरमा उत्पादन हुन्छ,’ लम्सालले भने, ‘कृषक र व्यापारीहरुबाट सङ्कलित विवरणअनुसार यस वर्ष छ हजार ५०० मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।’

मुस्ताङमा मार्फा्स्थित शितोष्ण वागवानी विकास केन्द्रले स्याउलगायत फलफूल र तरकारीको विरुवा तथा बिउ उत्पादन गर्दै आएको छ। यतिबेला मुस्ताङका कृषकहरु स्याउको बगैँचाको व्यवस्थापनमा जुटेका छन्। स्याउ बगैँचा व्यवस्थापनका लागि कृषकको मागअनुसार स्याउ जोन कार्यालयले औजार, विषादी, नीलोतुथो, स्प्रे, चुना, सर्व आयल, हाते ट्र्याक्टर, ढुवानीका लागि प्याक, स्याउ व्यवस्थापन सामग्री आदिमा सहयोग गर्ने स्याउ जोन सञ्चालक समितिका संयोजक जयेन्द्र थकालीले बताए ।

गण्डकी प्रदेश सरकारले पनि अनुदानमा स्याउका विरुवा स्याउ जोनमार्फत कृषकलाई वितरण गर्ने प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले बताए । मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed