Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २०, बागलुङ । जिल्लाको जैमिनी नगरपालिका ३ गाजाको धुरीमा रहेको नेपाल टेलिकमको रिपिटर टावर सञ्चालनमा नआउँदा जिल्लाकै ताराखोलाका स्थानीय पाँच दिनदेखि सञ्चार सेवाविहीन भएका छन् । गाजाको धुरीमा रहेको रिपिटर टावरमा विद्युत आपूर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध भएको हो । केही दिन पहिला भएको हिमपातका कारण विद्युत आपूर्ति बन्द भएको र टावरमा जडान गरिएको सौर्य ऊर्जामा समेत समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकम बागलुङका सुपरभाइजर केशव सापकोटाका अनुसार टावरमा जडान गरिएको सौर्य ऊर्जाको प्यानलमा अज्ञात व्यक्तिले ढुंगा प्रहर गरेर फुटेको छ । ‘ढुंगाले लागेको सोलार प्यानलले राम्रोसँग काम गरिरहेको छैन’ सापकोटाले भने, ‘केही दिन यता वर्षा र बदलीका कारण कमजोर बनेको सूर्यको प्रकाशले मात्रै फुटेको प्यानलले व्याट्री चार्ज गर्न सकिरहेको छैन ।’ पर्वतको दुलुंङमा रहेको टावरबाट गाजाको दहमा रिपिटर राखेर ताराखोलाको तार र अर्गलका टेलिफोन टावरहरू सञ्चालनमा थिए । गत मंगलबारदेखि टेलिकमको टावर आंशिक रुपमा जाने आउने गरे पनि बिहीबार साँझदेखि पूर्ण रुपमा बन्द भएको ताराखोलाका स्थानीय बताए ।

ताराखोला गाउँपालिकामा पर्ने साविकको हिल र तारा गाउँविकास समितिका झण्डै ४ हजार मोवाइल प्रयोगकर्ता सम्पर्कविहीन छन् । निजी क्षेत्रको सञ्चालनमा रहेको एनसेलको नेटवर्क फ्याट्ट–फुट्ट चलेको भए पनि राम्रोसँग कुराकानी गर्न कठिन भइरहेको स्थानीयले बताए । टेलिकम बागलुङका प्रमुख केशव शर्माका अनुसार मौसममा सुधारपछि गाजाको धुरीमा रहेको टावरमा ब्याट्री चार्ज भएपछि सेवा सुचारु हुनेछ । प्यानल फुटेको सोलार परिवर्तनको तयारी समेत टेलिकमले थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed