![]()
२०७६ पुस १७, काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको छुट्टाछुट्टै बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको उम्मेद्वार छान्न बिहीबार दिउँसो पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाए पनि पौडेल पक्षले महामन्त्री सशांक कोइरालको निवासमा भेला भएर छुट्टै बैठक गरेको हो । देउवाले २ बजे बैठक बोलाए पनि दिउँसो सवा ४ बजेसम्म पौडेल पक्ष नआएपछि केहीबेर अघि केन्द्रीय कार्यसमितिको बैठक सुरु गरेका छन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले, ‘दुई घण्टा कुर्दा पनि उहाँहरु नआउनुभएपछि सभापति भर्खरै बैठक सुरु गर्नुभयो । म अहिले भित्र छिरिसकें ।’ केन्द्रीय समिति बैठकले सातै प्रदेशका राष्ट्रियसभा सदस्यको उम्मेद्वार टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि आइतबार मनोनयन तोकिएको छ । उता संस्थापन पक्ष एकलौटी रुपमा अघि बढेको भन्दै पौडेल पक्षले महाराजगञ्जमा बैठक गरिरहेको छ ।
भेलामा संस्थापनविरुद्ध कसरी प्रस्तुत हुने र घोषित १४औं महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्ने भन्ने विषयमा कुराकानी भइरहेको सहभागी एक नेताले जानकारी दिए । भेलाले आफू पक्षीय जिल्ला सभापतिहरुको छुट्टै भेला पुस २१ गते काठमाडौँमै बोलाउने निर्णय समेत गरेको छ ।


