Breaking News.... EverestOnlineKhabar
June 3, 2026

Loading

२०७६ पुस ,१५, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएको घरधुरी छनौट गरी बन्दीपुर गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सोलार वितरण गरेको हो । अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापाले जानकारी दिए ।

‘बिजुली नपुगेको गाउँका अति विपन्न र बिजुली पुगे पनि मिटर राख्न सक्ने हैसियत नभएका घरधुरी छानेर सोलार वितरण गरेका हौँ,’ उनले भने, ‘अन्य विपन्नलाई पनि क्रमशः सोलार वितरण गरिनेछ ।’ सोलार प्यानल पाउने सात घरधुरी नै सुकुम्वासी परिवार हो । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर रु २५ हजार मूल्य बराबरको सोलार प्यानल वितरण गरिएको जनाइएको छ ।

गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । अहिलेसम्म मैनबत्ती र टुकीको भरमा बत्ती बाल्दै आएकामा सोलार पाएपछि घर नै उज्यालो हुने भन्दै स्थानीयवासी विष्णु नेपालीले खुशी व्यक्त गरे । बिजुली बाल्न मिटर जडान गर्न सक्ने अवस्था नरहेको अवस्थामा गाउँपालिकाले सोलार वितरण गरेर उदाहरणीय काम गरेको अर्का स्थानीयवासी सन्तमाया परियारले बताए । गाउँपालिकाले केही समय अगाडि बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, निरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलाई सोलार वितरण गरेको थियो ।

ट्र्याक्टर चालकको मृत्यु

तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए। परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग १ त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ । ना ६ त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ । ‘ट्र्याक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता लामिछानेले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed