Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस १४, सुर्खेत । करिब ७०० वर्ष अघि कालीकोटको फुकोटबाट राउटेको उत्पत्ति भएको बताइन्छ । सम्भवतः दक्षिण एसियाकै फिरन्ते जातिमा पर्दछ, राउटे । फिरन्ते वन्य जीवनमा बाँचिरहेका राउटे आधुनिक जीवनशैलीबाट धेरै टाढा छन् । स्थायी बसोबास, पशुपालन र खेतीबाली गर्न मान्दैनन् । यद्यपि, उनीहरुले आजसम्म पनि आफ्नो भाषा, कला, संस्कृति, रहनसहन, वेशभूषा र परम्परा जोगाइरहेका छन् । आफ्नै परम्परा, जीवनशैलीप्रति गर्व गर्छन् । चिटिक्क परेका घरभन्दा स्याउला र कपडाले छाएका छाप्रा उनीहरुका लागि स्वर्गझैं लाग्छन् । लेखपढ, जागीर, सुख–सुविधाप्रति कुनै आर्कषण छैन ।

गुना, बाँदर शिकार गर्छन् । जङ्गलको खानामा कन्दमूल खान्छन् । काठका भाँडाकुँडा बनाई साटफेर, बिक्री गर्नु मुख्य पेशा हो । अन्य समुदायझैं धर्मकर्म, संस्कृति र चाडबाड मान्छन् । विशेषगरी सुदूरपश्चिम प्रदेशको अछाम तथा कर्णालीका दैलेख, सुर्खेत, दाङ, सल्यान, रुकुम पश्चिम, जाजरकोट जिल्लाका जङ्गल क्षेत्रमा बसोबास गर्छन् । माओवादी द्वन्द्वका बेला बर्दिया र कैलालीसम्म पुगेका थिए । समुदायमा कुनै सदस्यको मृत्यु भएमा र बस्तीमा अन्य कुनै समस्या आइपरेमा बसाइँ सर्ने प्रचलन छ ।

राउटेहरु आफूलाई ‘जङ्गलका राजा’ ठान्छन् । ठकुरी वंशका रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । यसको लिपि भेटिँदैन । धर्म–संस्कृति हिन्दु सम्प्रदायसँग मेल खान्छ । देवीदेवताका रुपमा दारेमष्टोको पूजा गर्छन् । अरु चाडवाडभन्दा साउने सङ्क्रान्ति, बडादशैं र माघे सङ्क्रान्ति धुमधामका साथ मनाउँछन् । महिलाहरुले घलेक, चोलो, फरिया लगाउँछन् भने पुरुषहरुले गादो (सेतो बाक्लो कपडा), कम्मरमा पटुका बाँध्छन् । नगद रुपैयाँ, पैसा राख्ने थैली घाँटीबाट कम्मरसम्म छड्के पारेर भिरेका हुन्छन् । टाउकामा बाक्लो फेटा बाँधेका हुन्छन् ।

मुखिया नै समुदायको नेता हुन् । हितविपरीत काम गर्ने, आफ्ना जनताको जीविकाप्रति चासो नदिनेलाई पदबाट हटाउँछन् । पहिले मुखिया एकजना मात्र हुन्थे । पछिल्ला वर्ष तीन वटै जातिका बेग्लाबेग्लै मुखिया राखिएका छन् । सरकारले आर्थिक वर्ष २०६५÷६६ देखि लोपोन्मुख मासिक भत्ता दिन थालेको छ । प्रतिव्यक्ति ५०० रुपैयाँबाट शुरु भएको भत्ता रकम अहिले ३ हजार पु¥याइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed