Breaking News.... EverestOnlineKhabar
May 12, 2026

Loading

काठमाडौं : दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्।

बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन।

गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाएनन्। टिकट बिहान ६ बजेदेखि वितरण सुरु गरिएको थियो।

टिकट लिन महिला, पुरुष, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकाको छुट्टाछुट्टै लाइन नराख्दा समस्या आएको हो। सवारी साधनको स्तरअनुसार डिलक्स, सुपर डिलक्स, साधारण वर्गीकरण नगरिँदा पनि यात्रु अलमलमा परेका हुन्। दसैं मनाउन उपत्यकाबाट करिब ३० लाख यात्रु गाउँ फर्कने अनुमान छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव लेकनाथ गौतम लाइन व्यवस्थापन गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र तालुक निकायको भएको बताउँछन्। ‘यात्रु आफैं पनि सही ढंगले लाइनमा नबस्दा भद्रगोल देखिएको हो’, उनले भने, ‘महिला, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकालाई लाइनमा बस्नेले नै प्राथमिकता दिएर संस्कार देखाउनुपर्ने हो। तर, त्यस्तो देखिएन।

काठमाडौंबाट अन्य समयमा दैनिक १३ देखि १५ सय सार्वजनिक सवारीसाधन बाहिरिन्छन्। ती सवारी साधनले करिब ३० देखि ४० हजार यात्रुलाई सेवा दिने क्षमता राख्छन्। तर, घटस्थापनादेखि र फूलपातीसम्म दैनिक एकदेखि डेढ लाख र त्यसपछि साढे दुई लाख यात्रु काठमाडौंबाट बाहिरिन्छन्। निजी सवारीसाधन प्रयोगकर्ता थोरै छन्।

टिकट बुकिङ भए पनि यात्रुले बुकिङमा सवारीसाधनको नम्बर पाएका छैनन्। व्यवसायीले यात्रुसँग डिलक्स र सुपर डिलक्स भनेर यातायात व्यवस्था विभागले तोकेभन्दा २० देखि ४० प्रतिशत बढी भाडा लिएका छन्। घटस्थापनादेखि फूलपातीसम्मका लागि करिब ७० प्रतिशत टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ। सीमित सिटसंख्या देखाउँदै व्यवसायीले तीन–चार दिनभित्रै बुकिङ बन्द गर्ने तिकडम रच्ने यात्रुको गुनासो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.