Breaking News.... EverestOnlineKhabar
May 12, 2026

आन्तरिक विवादका कारण कांग्रेसमा गतिरोध

Loading

काठमाडौं – आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोलपूर्ण अवस्थामा पुगेको छ। १३औं महाधिवेशन भएको साढे तीन वर्ष हुँदासमेत आन्तरिक विवादका कारण विभाग र अन्य निकायलाई कांग्रेसले पूर्णता दिन सकेको छैन। यसबाट कार्यकर्ता नेतृत्वपंक्तिसँग असन्तुष्ट छन्।

महाधिवेशन भएको दुई महिनाभित्रै सबै विभाग र निकायलाई पूर्णता दिइसक्नुपर्ने विधानको व्यवस्था रहे पनि संस्थापन र असन्तुष्ट पक्षबीचको खिचातानीका कारण यो कामले अहिलेसम्म पूर्णता पाउन नसकेको हो।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षका कारण विभागहरु गठन हुन नसकेको दाबी गर्दै आएको छ। असन्तुष्ट पक्षले संथापन पक्षको दाबीलाई अस्वीकार गर्दै सभापति देउवाले विभागहरु गठन गर्न नचाहेको आरोप लगाउँदै आएको छ। महाधिवेशन भएको साढे तीन वर्ष बितिसकेकाले अब विभागहरु गठन गर्नुभन्दा १४औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने पक्षमा असन्तुष्ट खेमा छ। तर, संस्थापन पक्ष बाँकी समयका लागि भए पनि विभागहरु गठनको पक्षमा छ। कार्यकर्ता भने संस्थापन र असन्तुष्ट पक्षको आआफ्नै अडानका कारण पार्टीले गति लिन नसकेको बताउँछन्।असन्तुष्ट पक्षको विरोधकै कारण कांग्रेसले बल्लतल्ल गठन गरेको संसदीय र कार्यसम्पादन समिति विघटन भएको छ। दुवै समितिहरु विधानविपरीत गठन भएको भन्दै असन्तुष्ट पक्षले विघटन गर्न माग गरेपछि सभापति देउवाले डेढ वर्षअघि (२०७५ वैशाखमा) विघटन गरेका थिए। समितिमा भागबन्डा नमिल्दा दुवै समिति अहिलेसम्म गठन हुन सकेको अवस्था छैन। सभापति देउवाले पटकपटक कार्यसम्पादन समिति गठनका लागि केन्द्रीय समिति बैठक बोलाए पनि सहमति नजुट्दा यो विषयले प्रवेश पाउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.