Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा महिलाको नेतृत्व माग्दै विद्यार्थी नेतृहरू सभापति शेरबहादुर देउवालाई भेट्न

Loading

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा महिलाको नेतृत्व माग्दै विद्यार्थी नेतृहरू सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।

निवर्तमान केन्द्रीय समितिमा रहेका केही महिला नेतृसहितको टोलीले सभापति देउवालाई भेटेर नेविसंघको तदर्थ समितिमा महिला नेतृत्व ल्याउन माग गरेका हुन्। सभापति देउवालाई भेट्न उपत्यकाका क्याम्पसका केही महिला नेतृसहित निवर्तमान केन्द्रीय सदस्यहरू गीता गुरुङ, मीरा कटुवाल, पूजा उपाध्यय, मेघा शाही, प्रतिमा भट्टलगायत विद्यार्थी नेतृ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। उनीहरू सबै देउवानिकट मानिन्छन्।

देउवालाई भेटेका विद्यार्थी नेतृहरूले नेविसंघमा इतिहास कायम गर्न पनि महिलाको नेतृत्व आवश्यक रहेको बताएका थिए। उनीहरूले निवर्तमान समितिकी सहमहामन्त्री अम्बिका चलाउनेलाई तदर्थ समितिको अध्यक्ष बनाउन माग गरे। उनी पनि देउवा निकटकै विद्यार्थी नेतृ हुन्। पार्टीलाई सुदृढ बनाउन पनि आफूहरूले महिला नेतृत्व मागेको निवर्तमान केन्द्रीय सदस्य गीता गुरुङले बताइन्।

‘कम्युनिस्टको विद्यार्थी संगठनको नेतृत्व महिलाले गरिसके’, उनले भनिन्, ‘हामी प्रजातान्त्रिक पार्टीको भ्रातृ संगठनको नेतृत्व महिलालाई किन नदिने?’ कांग्रेसको इतिहासमा अहिलेसम्म नेविसंघको नेतृत्व महिलाले नगरेका कारण देउवाले आफू अरूभन्दा फरक रहेको देखाउन पनि तदर्थ समितिको सभापति चलाउनेलाई ल्याउनुपर्ने बताए।

‘उहाँ(देउवा) सभापति भएपछि सबै भ्रातृ संगठनको निर्वाचन गर्दै आउनुभएको थियो। तर नेविसंघको गर्न सक्नुभएन’, उनले भनिन्, ‘त्यो साख जगाउन पनि महिला अध्यक्ष बनाउनुपर्छ। अनि सभापतिले आफूलाई अरू सभापतिभन्दा फरक देखाउन पनि यो अवसर हो।’

विद्यार्थी नेतृहरूले तदर्थ समिति गठन गर्दा नेविसंघको विधान जसरी पनि कार्यन्वयन गर्नुपर्ने भन्दै सभापतिलाई दबाब दिएका थिए। उनीहरूले तदर्थ समिति पनि ३२ वर्षमुनिको ल्याउन सभापतिलाई सुझाए। ३२ मुनिको समिति ल्याउँदा चलाउनेको सम्भावना छ। द्येउवा समूहका उपसभापति विमलेन्द्र निधि र नेता बालकृष्ण खाँडले तदर्थ समितिमा उमेर हद लगाउन नहुने बताउँदै आएका छन्।

निधि आफू निकटका विद्यार्थी नेता सरोज थापालाई र खाँड प्रकाश घिमिरेलाई तदर्थ समितिको सभापति बनाउन चाहन्छन्। यस्तै, सहमहामन्त्री डा.प्राकाशशरण महत भने ३२ वर्षे उमेर हद लगाउन सभापतिलाई दबाब दिइरहेका छन्। उनी आफू निकटका प्रेमराज जोशीलाई तदर्थ समितिमा ल्याउने प्रयासमा छन्।

सभापति देउवाले विद्यार्थी नेतृसँग भेट्दै तदर्थ समितिमा महिला नेतृ ल्याउन सकरात्मक भएको बताए। एनले फागुन ९ गते बस्ने केन्द्रीय समिति बैठकमा छलफल गर्ने प्रतिक्रिया दिए। यस्तै, तदर्थ समिति ३२ वर्षे उमेर हद लगाएर ल्याउने बताए।

निवर्तमान केन्द्रीय समितिको सहमहामन्त्री चलाउनेले यसअघि देखि नै नेविसंघको नेतृत्व लिने आकांक्षा देखाएकी छन्। उनलाई पार्टी केन्द्रीय सदस्य एनपी साउद र नेविसंघ निवर्तमान समितिका अध्यक्ष नैनसिंह महरको साथ छ। तर उनी अछामको पञ्चदेवलविनायक नगरपालिकाको उपप्रमुख भएको भन्दै अन्य समूहका विद्यार्थी नेताले भने प्रश्न उठाएका छन्।

तर चलाउनेले भने विद्यार्थी संगठनको नेतृत्व लिन जनप्रतिनिधिबाट राजीनामा दिइसकेकी छन्। यद्यपि स्वीकृत भने भइसकेको छैन। ‘नेविसंघलाई नेतृत्व दिएर हाँक्ने मेरो चाहना हो। मैले नेताहरूसँगको सल्लाह मै उपप्रमुखबाट राजीनामा दिएको छु’, उनले भनिन्, ‘म नेविसंघको नेतृत्व लिन सक्षम छु। राजनीतिक रूपमा बायोडाटा पनि पुग्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed