Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं ।   मिस नेपाल २०१८ की विजेता श्रृंखला अहिले मिस वर्ल्डको प्रतिस्पर्धाको लागि चीनमा छिन्। शनिबार राति भएको ‘हेड टु हेड’मा श्रृंखला पराजित भइन्। उनी सिंगापुरकी भेनिसा पेहसँग पराजित भएकी थिइन्। हेड टु हेडमा पराजित भए पनि उनको मिस वर्ल्डको यात्रा रोकिएको छैन। उनको टप ३० मा पर्ने सम्भावना अझै छ। टप ३० मा जाने मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पजमा भने श्रृंखलाको सम्भावना बलियो देखिन्छ।

हेड टु हेड च्यालेन्ज हारेपछि श्रृंखला ‘फेसबुक लाइभ’मा आएर आफ्नो समर्थकहरूसँग माफी मागेकी छिन्। उनले भनेकी छिन्, ‘मलाई पनि अवस्य मन थियो कि हेड टु हेड जितेर नेपाललाई टप ३० मा पुर्‍याउँ। तर हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाइहरूको अपेक्षा पूरा गर्न सकिनँ। म सरी भन्न चाहान्छु।’

आफूले उक्त हेड टु हेड च्यालेन्ज हार्नुको कारण पनि उनले फेसबुक लाइभमा बोलेकी छिन्। उनले भनेकी छिन्, ‘हामीलाई ब्रिफिङमा चाहिँ आफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नुहोला। यो प्रस्तुति शैलीबारे मात्रै हो भनिएको थियो। मैले त्यही ब्रिफिङ फलो गरेँ। साढे एक मिनेट मात्रै समय थियो। टाइम लिमिटले नै धोका दिने हो कि भनेर मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ। सायद धेरै तयारी पनि भयो कि के भयो, बीचमा बोल्दाबोल्दै एक-दुई लाइनचाहिँ भन्न छुटेको रहेछ। सायद त्यो कनेक्ट भएन। मैले आफै पनि युट्युबमा भिडियो हेर्दा त्यति कनेक्टेड भएको पाइन।’

श्रृंखलाले भेट गरेर समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। आफू टप ३० मा पर्ने कुरामा आशावादी रहेको पनि बताएकी छिन्। ‘हेड टु हेड जित्न सकिन, तर १७ वटा स्पोट अझै खाली छ। तपाईहरू हार नमान्नुहोला। आशा छ म टप ३० मा पर्नेछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.